26
यसैले यो एघारौँ वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले भनेको छ, 'आहा !' मानिसहरूका ढोकाहरू भत्केका छन् । त्यो मतिर फर्केको छ । म भरपूर हुनेछु, किनभने त्यो भग्नावशेष भएको छ ।'3 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैँ धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्याउनेछु ।4 उनीहरूले टुरोसका पर्खालहरू भत्काउनेछन्, र त्यसका धरहराहरू ढाल्नेछन् । म त्यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु ।5 त्यो समुद्रको बीचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु - यो परमप्रभु परमेश्वरको घोषणा हो - र त्यो जातिहरूका निम्ति लूटको माल हुनेछ ।6 मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।7 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिसहरूसहित म टुरोसको विरुद्धमा ल्याउनेछु ।8 त्यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्ने किल्ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।9 तेरो पर्खालमा हिर्काउनलाई त्यसले मूढाहरू राख्नेछ, र त्यसका हतियारले तेरा धरहराहरू ढाल्नेछ ।10 त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्केको कुनै सहरभित्र मानिसहरू पसेझैँ गरी त्यो तेरा ढोकाहरूभित्र पस्छ ।11 त्यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्चिनेछ । त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्नेछन् ।12 उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।13 तेरो गीतको हल्ला म बन्द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्यै सुनिनेछैन ।14 म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्नेछस् । फेरि कहिल्यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्वर नै बोलेको हुँ - यो परमप्रभु परमेश्वरको घोषणा हो ।15 परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ, 'जब तेरो बीचमा डरलाग्दो मारकाट हुन्छ, तब ढलेहरूका स्वर र घाइतेहरूले सुस्केराले के टापूहरू काम्नेछैनन् र ?16 तब समुद्र किनारका सबै जना शासक आ-आफ्ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्त्रहरू फुकाल्नेछन् । तिनीहरूले आफैमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भुइँमा बस्नेछन्, र हरेक क्षण काम्नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन् ।17 तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो भन्नेछन्ः नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्ट भइस् । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्दाहरूले आफ्ना नजिक बस्ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।18 अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन् । तँ आफ्नो ठाउँमा नभएको हुनाले टापूहरू त्रासमा परेका छन् ।'19 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैँ म तँलाई एउटा उजाडिएको सहर तुल्याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्धमा उठाउनेछु, र जब ठूला छालहरूले तँलाई ढाक्छन्,20 तब म तँलाई प्राचीन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैँ जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्वीमुनि, प्राचीन भग्नावशेषमा जस्तै, मृत-लोकमा जानेहरूसित बस्न लाउनेछु । जसको कारण तँ फेरि कहिल्यै जीवितहरूको देशमा फर्केर बस्नेछैनस् ।21 तँमाथि म विपति ल्याउनेछु, र सधैँको निम्ति तँ फेरि कहिल्यै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन - यो परमप्रभु परमेश्वरको घोषणा हो ।"