10
तब मैले करूबहरूका शिरदेखि मास्तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरेँ । ती भन्दा माथि सिंहासन जस्तो स्वरूपमा नीर जस्तो केही कुरा देखा पर्यो ।2 तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्नुभयो र यसो भन्नुभयो, "करूबहरूका मुन्तिर रहेका पाङ्ग्राहरूका बीचमा जा, र ती करूबहरूका बीचमा भएको जलिरहेको आगोको भुङ्ग्रो लिएर आफ्ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।" तब मैले हेर्दाहेर्दै ती मानिस गए ।3 ती मानिस भित्र जाँदा करूबहरूचाहिँ मन्दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो ।4 परमप्रभुको महिमा करूबहरूबाट मास्तिर उठ्यो र मन्दिरको सँघारमाथि गयो । यसले मन्दिरलाई बादलले भरिदियो, र चोकचाहिँ परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो ।5 करूबहरूका पखेटाको आवाजचाहिँ बाहिरको चोकसम्मै सुनिन्थ्यो, जुन सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा सुनिने आवाज जस्तै थियो ।6 यस्तो भयो, जब परमेश्वरले त्यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, "ती करूबहरूका माझमा भएका पाङ्ग्राहरूका बीचबाट आगो ले", तब ती मानिस भित्र गए र एउटा पाङ्ग्राको छेउमा खडा भए ।7 करूबहरूका बीचमा भएको त्यो आगोतिर करूबहरूका बीचबाट एउटा करूबले आफ्नो हात छिराए, र त्यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्यो राखिदिए । ती मानिसले त्यो लिए र फर्केर बाहिर गए ।8 ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसकै हात जस्तै केही कुरा देखेँ ।9 अनि मैले हेरेँ, र देखेँ । करूबहरूका छेउमा चार वटा पाङ्ग्रा थिए - प्रत्येक करूबको छेउमा एउटा पाङ्ग्रा थियो, र ती पाङ्ग्रा पीतमणि जस्ता देखिन्थे ।10 ती चारै पाङ्ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे ।11 ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्थे, तिनीहरू जाँदा फर्कंदैन थिए । तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्यसैतिर नफर्की जान्थे ।12 तिनीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्ग्राहरूसमेत सम्पूर्ण आँखाले भरिएका थिए ।13 मैले सुन्दा, ती पाङ्ग्राहरूलाई "घुम्ने पाङ्ग्रा" भनियो ।14 ती हरेकका चार वटा अनुहारहरू थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्तै थियो ।15 तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात् जीवित प्राणीहरू उठे ।16 जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्ग्राहरू पनि तिनीहरूसितै जान्थे, र जब ती करूबहरू भुइँबाट माथि उठ्नलाई आफ्ना पखेटा फैलाउँथे, तब ती पाङ्ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे ।17 जब ती करूबहरू ठिङ्ग खडा हुन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग खडा नै रहन्थे, र जब ती माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्राहरूमा थिए ।18 तब परमप्रभुको महिमा मन्दिरको सँघारबाट निस्केर गयो र ती करूबहरूका माथि अडियो ।19 ती करूबहरूले आ-आफ्ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्ग्राहरूले पनि तिनीहरूका पछिपछि त्यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्वरको महिमा माथिबाट तिनीहरूमा आयो ।20 कबार नहरको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन् भनी मैले थाहा पाएँ ।21 ती प्रत्येकका चार वटा अनुहारहरू र चार वटा पखेटाहरू थिए, र तिनका पखेटामुनि मानिसका हातहरू जस्तै देखिन्थे,22 र तिनीहरूका अनुहारहरूका स्वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरू जस्तै थिए, र तीमध्ये हरेक सीधै अगाडि हिँड्दथे ।