11
तब आत्माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्यहाँ ढोकाको मुखैमा पच्चीस जना मानिसहरू थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखेँ ।2 परमेश्वरले मलाई भन्नुभयो, "ए मानिसको छोरो, यस सहरमा दुष्ट्याइँ गर्न षड्यन्त्र रच्ने र दुष्ट योजना बनाउने मानिसहरू यी नै हुन् ।3 तिनीहरू भन्दैछन्, 'घरहरू निर्माण गर्ने समय अहिले होइन । यो सहर भाँडो हो र हामीहरू मासु हौँ ।’4 यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।"5 तब परमप्रभुका आत्मा ममा आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयोः "परमप्रभु यसो भन्नुहुन्छः हे इस्राएलका घराना, तिमीहरू यसो भन्दछौ । किनकि तिमीहरूका मनमा के आउँछ भन्ने मलाई थाहा छ ।6 तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्यालाई वद्धि गरेका छौ, र यसका गल्लीहरू तिनीहरूले भरेका छौ ।7 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बीचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिँ भाँडो हो । तर तिमीहरूचाहिँ यस सहरका बीचबाट बाहिर निकालिनेछौ ।8 तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु । यो परमप्रभु परमेश्वरको घोषणा हो ।9 म तिमीहरूलाई सहरको बीचबाट बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु ।10 तिमीहरू तरवारले ढल्नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।11 यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्यसको बीचमा तिमीहरू मासु नै हुनेछौ । तिमीहरूको न्याय म इस्राएलको सिमाना भित्र नै गर्नेछु ।12 तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, जसका विधिहरूमा तिमीहरू हिँडेका छैनौ, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरूले पालन गरेका छौ ।13 जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्याह मरे । तब म घोप्टो परेँ र चर्को स्वरमा कराएँ र यसो भनेँ, "हाय, परमप्रभु परमेश्वर ! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्पूर्ण रूपले सर्वनाश गर्नुहुन्छ ?"14 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,15 "ए मानिसको छोरो, तेरा दाजुभाइ ! तेरा दाजुभाइ ! जो तेरा कुलका र इस्राएलका सारा घराना ! यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्दाहरूले यसो भनेका थिए, 'यिनीहरू परमप्रभुदेखि टाढा भएका छन् । यो देश हामीलाई अधिकार गर्न दिइएको थियो ।’16 यसकारण यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मैले तिनीहरूलाई जातिहरूका बीचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्ति म तिनीहरूको पवित्रस्थान भएको छु ।'17 यसकारण भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूलाई म मानिसहरूबाट जम्मा गर्नेछु, र तिमीहरू तितरबितर भएका देशहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु र म तिमीहरूलाई इस्राएलको देश दिनेछु ।'18 तब तिनीहरू त्यहाँ जानेछन् र त्यो ठाउँबाट हरेक घृणित र घिनलाग्दा कुराहरू हटाउनेछन् ।19 म तिनीहरूलाई एउटै हृदय दिनेछु, र तिनीहरूमा म एउटा नयाँ आत्मा हालिदिनेछु । म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु,20 जसका कारण तिनीहरू मेरा विधिहरूमा चल्नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन् । तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु ।21 तर आफ्ना घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिँ म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।"22 ती करूबहरूले आफ्ना पखेटा र आफ्ना छेउमा भएका पाङ्ग्राहरू माथि उचाले र इस्राएलका परमेश्वरको महिमा तिनीहरूका माथि थियो ।23 तब सहरको बीचबाट परमप्रभुको महिमा माथि गयो, र सहरको पूर्वपट्टिको पर्वतमा अडियो ।24 आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा कल्दीमा निर्वासित भएकाहरूकहाँ ल्याउनुभयो । तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो ।25 तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ ।