26
योशियाहका छोरा यहोयाकीमको शासनकालको सुरुमा परमप्रभुको यो वचन मकहाँ आयो,2 "परमप्रभु यसो भन्‍नुहुन्‍छ, मेरो मन्‍दिरको चोकमा खडा हो र मेरो मन्‍दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् । तिनीहरूलाई भन्‍न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् । एउटै शब्द पनि नछोड !3 शायद तिनीहरूले सुन्‍नेछन्, अनि हरेक मानिस आफ्ना दुष्‍ट चालहरूबाट फर्कनेछन्, यसरी तिनीहरूका अभ्यासको दुष्‍टताको कारणले मैले तिनीहरूमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनबाट मैले आफ्नो मन म बदल्‍नेछु ।4 त्‍यसैले तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिँड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने,5 मैले तिमीहरूकहाँ निरन्‍तर रूपमा पठाइरहेका मेरा दास, अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने - तर तिमीहरूले सुनेका छैनौ ! -6 तब म यो मन्‍दिरलाई शीलो जस्‍तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।"7 यर्मियाले परमप्रभुको मन्‍दिरमा यी वचन घोषणा गरेका पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले सुने ।8 त्‍यसैले जब परमप्रभुले यर्मियालाई भन्‍नू भनी आज्ञा गर्नुभएका वचन तिनले घोषणा गरेर सके, तब पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समाते र भने, "तँ निश्‍चय नै मर्नेछस् !9 यो मन्‍दिर शीलोझैँ हुनेछ र यो सहर बासिन्‍दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस् ?" किनकि सबै मानिसहरूले परमप्रभुको मन्‍दिरमा यर्मियाको विरुद्धमा भीड जम्मा गरेका थिए ।10 तब यहूदाका अधिकारीहरूले यो खबर सुने, र तिनीहरू राजाको महलदेखि परमप्रभुको मन्‍दिरमा गए । तिनीहरू परमप्रभुको मन्‍दिरको नयाँ मूल ढोकामा बसे ।11 पूजाहारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूसँग बोले । तिनीहरूले भने, "यो मानिसलाई मार्नु ठीक छ, किनकि यसले यो सहरको विरुद्धमा अगमवाणी बोलेको छ, जस्‍तो तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको छ !"12 त्‍यसैले यर्मियाले सबै अधिकारी र सबै मानिसहरूसँग बोले र भने, "तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्‍दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।13 त्‍यसैले अब, आ-आफ्ना चाल र अभ्‍यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको स्‍वर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बदल्‍नुहुनेछ ।14 मेरो आफ्नै बारेमा, मलाई हेर्नुहोस् ! म आफै तपाईंहरूकै हातमा छु । तपाईंहरूको दृष्‍टिमा जे ठीक र उचित लाग्छ, मलाई त्‍यही गर्नुहोस् ।15 तर तपाईंहरूले निश्‍चय नै जान्‍नुपर्छ, कि तपाईंहरूले मलाई मार्नुभयो भने, तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा, यो सहरमा र यहाँका बासिन्‍दाहरूमा ल्याउँदै हुनुहुन्‍छ, र किनकि तपाईंहरूले सुन्‍ने गरी यी वचन घोषणा गर्न साँच्‍चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो ।"16 तब अधिकारीहरू र सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, "यो मानिस मर्न लायक छैन, किनकि उसले परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुराहरूको घोषणा गरेको छ ।"17 तब देशका धर्म-गुरुहरूका माझबाट मानिसहरू खडा भए, र सारा मानिसहरूको सभालाई भने,18 तिनीहरूले भने, "मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाको शासनकालमा अगमवाणी बोल्दै थिए । तिनले यहूदाका सबै मानिसहरूसँग बोले र भने, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छः सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेमचाहिँ गिटीको थुप्रो हुनेछ र मन्‍दिरको डाँडाचाहिँ झाडीझैँ हुनेछ ।'19 के यहूदाका राजा हिजकिया र यहूदाका सारा मानिसहरूले तिनलाई मारे त ? के तिनले परमप्रभुको भय मान्‍ने काम गरेनन् र अनि परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बदल्‍ने गरी के तिनले परमप्रभुको मुहारलाई शान्‍त पारेनन् र ? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठूलो दुष्‍ट काम गर्ने र ?"20 त्‍यसै बेला त्‍यहाँ परमप्रभुको नाउँमा अगमवाणी बोल्ने अर्का मानिस, किर्यत-यारीमा बस्‍ने शमायाहका छोरा उरियाह पनि थिए । यर्मियाका वचनहरूसित सहमत हुने गरी तिनले पनि यस सहर र यस देशको विरुद्धमा अगमवाणी बोले ।21 तर जब राजा यहोयाकीम, तिनका सबै सिपाहीहरू र अधिकारीहरूले तिनको वचन सुने, तब राजाले तिनलाई मार्न खोजे, तर उरियाहले यो कुरा सुने र तिनी डराए । त्‍यसैले तिनी भागे र मिश्रमा गए ।22 तब राजा यहोयाकीमले मिश्रमा अक्बोरका छोरा एल्नातान र त्‍यसका साथमा केही मानिसहरू उरियाहको पछिपछि मिश्रमा पठाए ।23 तिनीहरूले उरियाहलाई मिश्रबाट ल्याए र तिनलाई राजा यहोयाकीमकहाँ ल्याए । तब यहोयाकीमले तिनलाई तरवारले मारे, र तिनको लाशलाई साधारण मानिसहरूका लाशहरू भएको ठाउँमा पठाए ।24 तर शापानका छोरा अहीकामको हात यर्मियासित थियो । त्‍यसैले तिनलाई मारिनलाई मानिसहरूका हातमा दिइएन ।