25
यहूदाका सबै मानिसहरूको विषयमा यर्मियाकहाँ आएको वचन यही हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यो वचन आयो । त्‍यो बेबिलोनका राजा नबूकदनेसरको पहिलो वर्ष थियो ।2 यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिसहरू र यरूशलेमका सबै बासिन्‍दाहरूलाई घोषणा गरे ।3 तिनले भने, "यहूदाका राजा अमोनका छोरा योशियाहको तेह्रौँ वर्षदेखि आजको दिनसम्म अर्थात् तेईस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको छ, र मैले तिमीहरूसित पटक-पटक बोलेको छु, तर तिमीहरूले सुनेका छैनौ ।4 परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्‍यान दिएका छैनौ ।5 यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्‍ट चाल र आफ्ना भ्रष्‍ट अभ्‍यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् ।6 त्‍यसैले अरू देवताहरूको पूजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग, र उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहाँलाई रीस नउठाओ ।'7 तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहाँलाई रीस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।8 त्‍यसैले सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'तिमीहरूले मेरा वचन नसुनेका हुनाले,9 हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसहरूलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्‍दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिहरूको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्‍तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।10 म आनन्‍द र खुसीको स्‍वर, दुलहा र दुलहीको स्‍वर, जाँतो पिँधेको स्‍वर र बत्तीको उज्‍यालोको अन्‍त्‍य गरिदिनेछु ।11 तब यो सारा देश उजाड र त्रासको पात्र हुनेछ, अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन् ।12 तब सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनका राजा, र त्‍यो जाति र कल्दीहरूको देशलाई तिनीहरूको अधर्मको कारण दण्ड दिनेछु र त्‍यसलाई अनन्‍तको उजाड पार्नेछु, यो परमप्रभुको घोषण हो ।13 त्‍यसपछि मैले त्‍यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पूरा गर्नेछु ।14 किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु' ।"15 किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, "मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा ली, र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा ।16 तिनीहरूले पिउनेछन् र त्‍यसपछि धरमराउनेछन्, र मैले तिनीहरूका बीचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन् ।"17 त्‍यसैले मैले परमप्रभुको हातबाट कचौरा लिएँ, र ती सबै जाति जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो, मैले तिनीहरूलाई पिउन लगाएँ,18 अर्थात् तिनीहरू आजको दिनमा भएझैँ तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्‍यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ ।19 अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिसहरू,20 विभिन्‍न जातका सबै मिश्रित मानिसहरू, र ऊज देशका सबै राजाहरू, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजाहरू,21 एदोम, मोआब र अम्मोनका मानिसहरू,22 टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजाहरू,23 ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्‍यो ।24 यसबाहेक, अरबका सबै राजाहरू, उजाड-स्थानमा बस्‍ने मिश्रित मानिसहरूका सबै राजाहरू,25 जिम्रीका सबै राजाहरू, एलामका सबै राजाहरू, मादीका सबै राजाहरू,26 उत्तरका, नजिक र टाढा बस्‍ने सबै राजाहरू, पृथ्वीमा हुने सबै राज्‍यहरूले तिनीहरूका भाइसँगै परमप्रभुको हातको कचौरा पिउनुपर्‍यो । अन्‍त्‍यमा, बेबिलोनका राजाले पनि त्‍यस कचौरालाई पिउनेछ ।27 परमप्रभुले मलाई भन्‍नुभयो, "अब तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पिओ र मात, अनि बान्‍ता गर, लडीबडी गर, र मैले तिमीहरूका बीचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ ।'28 तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैँले तिनीहरूलाई यसो भन्‍नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छः तिमीहरूले निश्‍चय पनि यसलाई पिउनैपर्छ ।29 किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिँ दण्डबाट उम्कने छौ र ? तिमीहरू उम्कनेछैनौ, किनकि देशका सबै बासिन्‍दाहरूको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'30 तिनीहरूका विरुद्धमा तैँले यी सबै वचनको अगमवाणी बोल्नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र वाससस्थानबाट उहाँको स्वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्‌गुर पेल्नेहरू जस्‍तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ ।31 युद्धको आवाज पृथ्वीको कुना-कुनासम्म गुन्‍जिनेछ, किनकि परमप्रभुले जाति-जातिहरूको विरुद्धमा अभियोग लगाउनुहुन्‍छ, र सबै मानिसमाथि इन्साप ल्याउनुहुनेछ, अनि दुष्‍टहरूलाई उहाँले तरवारले काट्नुहुनेछ, यो परमप्रभुको घोषणा हो ।'32 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ ।33 तब त्‍यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरिने र गाडिनेछैन । तिनीहरू भुइँमा मल जस्‍तै हुनेछन् ।34 हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ ! बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्‍या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैँ खस्दा छरपष्‍ट हुनेछौ ।35 गोठालाहरूका लागि कुनै शरणस्थान छैन । बगालका अगुवाहरूका लागि त्‍यहाँ भाग्‍ने ठाउँ हुनेछैन ।36 गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्‍छ ।37 त्‍यसैले परमप्रभुको डरलाग्दो रीसको कारणले शान्‍तिमय खर्कहरू उजाड पारिनेछन् ।38 जवान सिंहले झैँ उहाँले आफ्नो ठाउँ छाड्नुभएको छ, किनकि अत्‍याचारीको रीस र उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ' ।"