65
"जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनेँ, 'म यहीँ छु । म यहीँ छु ।’2 हठी मानिसहरूलाई दिनभरि मैले आफ्ना हातहरू फैलाएको छु, जो त्‍यस्ता मार्ग हिँड्छन् जुन असल छैन, जो तिनीहरूका आफ्नै विचारहरू र योजनाहरूमा हिँडेका छन् ।3 तिनीहरूले मलाई बगैँचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्‍तर क्रोधित बनाए ।4 तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जागा बस्छन् अनि आफ्ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्‍छन् ।5 तिनीहरू भन्‍छन्, 'टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँ भन्‍दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा धूँवा, दिनभरि बल्ने आगो हुन् ।6 हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,7 तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ", परमप्रभु भन्‍नुहुन्‍छ । "डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।8 परमप्रभु यसो यसो भन्‍नुहुन्‍छ, "दाखको झुप्‍पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्‍तो हो । मेरो सेवकको खातिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।9 याकूब र यहूदाका सन्‍तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्‍यहाँ बस्‍नेछन् ।10 मलाई खोज्‍ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन र आकोरको बेँसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्‍नेछन् ।11 तर तिमीहरू जसले परमप्रभुलाई त्‍याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्‍छौ, जसले भाग्य-देवको निम्ति टेबिल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।12 तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना काटिनलाई घोप्‍टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्‍टिमा जे खराब थियो त्‍यही गर्‍यौ र मलाई खुसी नपार्ने काम गर्न रोज्‍यौ ।"13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, "हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरू आनन्‍दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।14 हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्‍दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।15 मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्‍वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई अर्कै नाउँले बोलाउनेछु ।16 पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्‍यताको परमेश्‍वरद्वारा आशिषित् हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्‍यताको परमेश्‍वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्‍टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्‍टिबाट लुकाइनेछन् ।17 किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्न लागेको छु । अनि पहिलेका कुराहरू याद हुने वा मनमा आउनेछैनन् ।18 तर मैले सृष्‍टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्‍दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्‍दको रूपमा र त्‍यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्‍टि गर्न लागेको छु ।19 यरूशलेमसित म आनन्‍दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्‍यसमा रुवाइ र कष्‍टको स्‍वर कदापि सुनिनेछैन ।20 त्‍यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्‍न नसक्‍ने कुनै पनि व्यक्ति श्रापित ठानिनेछ ।21 तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।22 तिनीहरूले घर निर्माण गरेपछि फेरि त्‍यसमा अरू कोही बस्‍ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्‍ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्‍तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्ना हातका कामको पूर्ण रूपमा उपभोग गर्नेछन् ।23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्‍म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्‍तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्‍तानहरू हुन् ।24 तिनीहरूले पुकार्न अघि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्‍नेछु ।25 ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैँ पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्‍याउनेछैनन् न त विनाश गर्नेछन्", परमप्रभु भन्‍नुहुन्‍छ ।