42
हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।2 तिनी कराउनेछैनन् न चिच्याउनेछन्, न तिनको आवाज सडकहरूमा सुनाउनेछन् ।3 तिनले फुटेको निगालोलाई भाँच्नेछैनन्, अनि मधुरो बत्तीलाई तिनले निभाउनेछैनन्ः तिनले विश्वस्ततासाथ न्याय गर्नेछन् ।4 पृथ्वीमा तिनले न्याय स्थापित नगरेसम्म तिनी मूर्च्छा पर्नेछैनन्, न निराश हुनेछन् । अनि समुद्र किनारहरूले तिनको न्यायको आशा गर्छन् ।5 आकाश सृष्टि गर्नुहुने र त्यसलाई फिँजाउनुहुने, पृथ्वी र त्यसले उपन्न गर्ने सबै थोक बनाउनुहुने, त्यसमा मानिसहरूलाई सास दिनुहुने र त्यसमा बस्नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः6 "म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जातिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,7 अन्धाहरूका आँखा खोलिदिन, काल-कोठरीबाट कैदीहरूलाई छुटकारा दिन र अन्धकारमा बस्नेहरूलाई बन्दीगृहबाट छुटकारा दिन ।8 म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो । म आफ्नो महिमा अर्कोलाई दिनेछैन न म आफ्नो प्रशंसा मूर्तिहरूलाई दिनेछु ।9 हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु । ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्नेछु ।10 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ र पृथ्वीको अन्तिम छेउबाट उहाँको प्रशंसा गाओ । तिमीहरू जो तल समुद्रमा जान्छौ, र त्यसमा भएका सबैले, समुद्री किनारहरू र त्यहाँ बस्नेहरूले ।11 मरुभूमि र सहरहरूले स्वर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन् ! सेलाका बासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् ।12 तिनीहरूले परमप्रभुलाई महिमा दिऊन् र समुद्र किनारहरूमा उहाँको प्रशंसाको घोषणा गरून् ।13 परमप्रभु एउटा योद्धाझैँ बाहिर निस्कनुहुनेछ । एक जना योद्धाले झैँ उहाँले आफ्नो जोश जगाउनुहुनेछ। उहाँ करानुहुनेछ, हो, उहाँले युद्धाको ध्वनी निकाल्नुहुनेछ । उहाँले आफ्ना शत्रुहरूलाई आफ्नो शक्ति देखाउनुहुनेछ ।14 म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैलाई थामेको छु । अब म प्रसववेदनामा परेको स्त्रीझैँ कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।15 म पहाडहरू र पर्वतहरूलाई उजाड पारेर छोड्नेछु र तिनका सबै बोटबिरुवालाई सुक्खा बनाउनेछु । अनि नदीहरूलाई टापूहरूमा म परिणत गर्नेछु र सिमसारहरू सुक्खा हुनेछन् ।16 अन्धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूलाई ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बदल्नेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्याग्नेछैन ।17 तिनीहरूलाई फर्काइनेछ, तिनीहरूलाई पूर्ण रूपमा लाजमा पारिनेछ, जसले कुँदिएको आकृतिहरूमा भरोसा गर्छन्, जसले धातुका आकृतिहरूलाई भन्छन्, "तपाईंहरू हाम्रा ईश्वरहरू हुनुहुन्छ ।"18 ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्न सक ।19 मेरो सेवकबाहेक को अन्धा छ ? वा मैले पठाएको मेरो दूतबाहेक को बहिरो छ ? मेरो करारको साझेदार जस्तो बहिरो वा परमप्रभुको सेवक जस्तो अन्धा को छ ?20 तैँले धेरै थोक देख्छस्, तर बुझ्दैनस् । कानहरू खुल्ला छन्, तर कसैले सुन्दैन ।21 आफ्नो न्यायको प्रशंसा गर्न र आफ्नो व्यवस्थालाई महिमित पार्न परमप्रभु खुसी हुनुहुन्छ ।22 तर यिनीहरू ठगिएका र लुटिएका मानिसहरू हुन् । तिनीहरू सबै खाल्डाहरूमा जाकिएका, कैदहरूमा राखिएका छन् । तिनीहरू कसैले उद्धार नगर्ने लूटका माल भएका छन् र कसैले यसो भन्दैन, "तिनीहरूलाई फिर्ता ल्याओ !"23 तिमीहरूमध्ये कसले यो सुन्नेछ ? भविष्यमा कसले सुन्नेछ र ध्यान दिनेछ ?24 याकूबलाई कसले लुटेराको हातमा र इस्राएललाई डाँकूहरूको हातमा सुम्प्यो ? के परमप्रभुले नै होइन, जसको विरुद्धमा हामीले पाप गरेका छौँ, जसको बाटोमा हिँड्न तिनीहरूले इन्कार गरे र जसको व्यवस्था पालन गर्न तिनीहरूले इन्कार गरे ?25 यसकारण उहाँले तिनीहरूमाथि आफ्नो डरलाग्दो क्रोध र युद्धको हिंसा खन्याउनुभयो, त्यसको ज्वालाले तिनीहरूलाई घेर्यो, तापनि तिनीहरूले बुझेनन् । त्यसले तिनीहरूलाई भस्म पार्यो, तर तिनीहरूले त्यसलाई मनमा लिएनन् ।