6
यरूशलेमका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः हे स्‍त्रीहरूमध्‍ये असाध्‍यै सुन्‍दरी, तिम्रा प्रेमी कहाँ जानुभएको छ ? तिम्रा प्रेमी कुनचाहिँ दिशामा जानुभएको छ ताकि हामी तिमीसँगै खोज्‍न सकूँ ? प्रेमिका आफूसित बोल्दैः2 मेरा प्रेमी आफ्नो बगैँचामा, सुगन्धित मसलाहरूले भरिएको ओछ्यानमा जानुभएको छ; बगैँचामा चहार्न र लिली फूलहरू बटुल्न जानुभएको छ ।3 म मेरा प्रेमीको हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्‍छ । उहाँ प्रसन्‍न हुँदै लिली फूलहरूका बीचमा चहार्नुहुन्‍छ । प्रेमी प्रेमिकासित बोल्दैः4 हे मेरी प्रिय, तिमी तिर्सा जत्तिकै सुन्‍दरी र यरूशलेमजत्तिकै मायालु छ्यौ । तिमी आफ्ना झन्डाहरू फहराउने सेना जत्तिकै प्रतापी छ्यौ ।5 तिम्रा आँखा मबाट तर्काऊ, किनकि तिनले मलाई व्याकुल तुल्याउँछन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगाल जस्‍तो छ ।6 तिम्रा दाँत भर्खरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथान जस्‍तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बीचमा कोही पनि एक्लो छैन ।7 तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरू जस्ता छन् । प्रेमी आफूसित बोल्दैः8 साठी जना रानी, असी जना भित्रिनी र अनगिन्‍ती युवतीहरू छन् ।9 तर मेरी ढुकुर्नी, मेरी विशुद्ध एक मात्र छिन् । उनी आफ्नी आमाको एक मात्र छोरी हुन् । उनी आफ्नी आमाले जन्‍माएकी मनपर्ने छोरी हुन् । युवतीहरूले उनलाई देखे, उनलाई धन्‍यको भने । रानीहरू र भित्रिनीहरूले पनि उनलाई देखे, र उनको प्रशंसा गरे । रानीहरू र भित्रिनीहरूले भने,10 "प्रभातझैँ उदाउने, चन्‍द्रमाझैँ सुन्‍दरी, सूर्यझैँ चम्किलो, आफ्ना झन्डाहरू फहराउने सेनाझैँ प्रतापी यी को हुन् ?" प्रेमी आफूसित बोल्दैः11 बेँसीमा उब्जनी बढेको, दाखबारीहरूमा कोपिला लागेको छ या छैन र अनारमा मुजुरा लागेको छ या छैन भनी हेर्न म बदामका रूखहरूको बगैँचाभित्र छिरेँ ।12 म यति धेरै खुसी भएँ कि म राजकुमारको रथमा चढिरहेको भान भयो । मित्रहरू प्रेमिकासित बोल्दैः13 हे सिद्ध प्रेमिका, फर्केर आऊ, फर्केर आऊ । हामीले तिमीलाई एकटक लगाएर हेर्न सकूँ भनेर फर्केर आऊ, फर्केर आऊ । प्रेमिका साथीहरूसित बोल्दैः तिमीहरू किन दुई जना सेनाको बीचमा नाच्‍छन् जस्‍तै गरी सिद्ध प्रेमिकालाई एकटक लगाएर हेर्छौ ?