29
धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुनेछ ।2 धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्‍द मनाउँछन्, तर दुष्‍ट मानिस शासक बन्‍दा मानिसहरूले सुस्केरा हाल्छन् ।3 बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्‍न तुल्याउँछ, तर वेश्याहरूको सङ्‌गत गर्नेले आफ्नो सम्पत्ति नष्‍ट पार्छ ।4 राजाले न्‍यायद्वारा देश सुदृढ बनाउँछ, तर घूस लिनले देशलाई तहसनहस पार्छ ।5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्‍यसका खुट्टाका लागि जाल फिँजाइरहेको हुन्‍छ ।6 खराब मानिसको पापमा पासो हुन्‍छ, तर धर्मात्माले गाएर आनन्‍द मनाउँछ ।7 धर्मात्मालाई गरीबका अधिकारहरू थाहा हुन्‍छ, तर दुष्‍टले यस्तो ज्ञान बुझ्दैन ।8 खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछन् ।9 बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रीस प्रकट गरेर गिल्ला गर्छ र त्‍यहाँ चैन हुँदैन ।10 रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्‍यान लिन खोज्छ ।11 मूर्खले आफ्ना सबै रीस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्‍यसलाई थामेर शान्‍त हुन्‍छ ।12 शासकले झूटो कुरोलाई ध्‍यान दियो भने त्‍यसका सबै अधिकारीहरू दुष्‍ट हुनेछन् ।13 गरीब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्‍छ ।14 राजाले सत्‍यताद्वारा गरीबको न्‍याय गरे भने तिनको सिंहासन सदाको लागि स्थिर रहनेछ ।15 लट्ठी र सुधारले बुद्धि दिन्‍छन्, तर अनुशासनबिनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।16 दुष्‍ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्‍छ, तर धर्मी मानिसहरूले ती दुष्‍ट मानिसहरूको पतन देख्‍नेछन् ।17 आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्‍यसले तैलाई चैन दिनेछ; त्‍यसले तेरो जीवनमा आनन्‍द ल्याउनेछ ।18 जहाँ अगमवाणीय दर्शन हुँदैन, त्‍यहाँ मानिसहरू भाँडिन्‌छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्‍यको हो ।19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्‍यसले बुझे तापनि त्‍यहाँ कुनै प्रतिक्रिया हुँदैन ।20 के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस् ? त्‍यसको लागि भन्‍दा त मूर्खको लागि बढी आशा हुन्‍छ ।21 जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्‍यसले अन्‍त्‍यमा कष्‍ट भोग्‍नेछ ।22 रिसाएको मानिसले द्वन्‍द्व निम्त्‍याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।23 मानिसको घमण्डले त्‍यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइनेछ ।24 चोरसित बाँडचुँड गर्नेले आफ्नै जीवनलाई घृणा गर्छ । त्‍यसले श्राप सुन्‍छ र केही भन्‍दैन ।25 मानिसको डर पासो जस्‍तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुनेछ ।26 शासकको मुहार खोज्‍नेहरू धेरै छन्, तर मानिसको लागि न्‍याय परमप्रभुबाट नै आउँछ ।27 अन्‍यायी मानिस धर्मात्माको लागि घृणित हुन्‍छ, र सोझो चाल भएको मानिस दुष्‍टको लागि घृणित हुन्‍छ ।