28
कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्‍छन् ।2 देशको अधर्मको कारण त्‍यहाँ धेरै शासकहरू हुन्‍छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍नेछ ।3 एउटा गरीब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरीब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षा जस्‍तो हो ।4 व्यवस्था त्‍याग्‍नेहरूले दुष्‍ट मानिसहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरू तिनीहरूको विरुद्धमा लड्छन् ।5 खराब मानिसले न्‍यायलाई बुझ्दैन, तर परमप्रभुको खोजी गर्नेहरूले हरेक कुरो बुझ्दछ ।6 आफ्ना मार्गहरूमा टेढो हुने धनी मानिस भन्‍दा आफ्नो निष्‍ठामा हिँड्ने गरीब मानिस उत्तम हुन्‍छ ।7 व्यवस्था पालन गर्ने छोरो समझदार हुन्‍छ, तर घिचुवाको सङ्‌गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्‍जित तुल्याउँछ ।8 धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्‍यसले गरीबहरूमाथि दया देखाउँछ ।9 कसैले व्यवस्था सुन्‍नबाट आफ्नो कान तर्कायो भने त्‍यसको प्रार्थना पनि घृणित हुन्‍छ ।10 सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिनेछ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउनेछ ।11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरीब मानिसले त्‍यसलाई पत्ता लगाउनेछ ।12 धर्मीहरू विजय हुँदा ठूलो महिमा हुन्‍छ, तर दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्‍न थाल्छन् ।13 आफ्ना पापहरू लुकाउनेको उन्‍नति हुनेछैन, तर तिनलाई स्वीकार गरी त्‍याग्‍नेलाई कृपा देखाइनेछ ।14 सधैँ आदरसाथ जिउने आशिषित् हुनेछ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्‍टमा पर्नेछ ।15 गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक हुन्‍छ ।16 समझशक्ति कमी भएको शासक क्रूर हुन्‍छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्‍छ ।17 कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्‍यसको मृत्‍यु नभएसम्म त्‍यो भगुवा हुनेछ र कसैले त्‍यसलाई सहायता गर्नेछैन ।18 निष्‍ठासहित हिँड्ने सुरक्षित हुनेछ, तर टेढो चाल भएको मानिस अकस्मात् पतन हुनेछ ।19 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुनेछ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिनेछ ।20 विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउनेछ, तर झट्टै धनी हुनेचाहिँ दण्डबिना उम्कनेछैन ।21 पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ ।22 कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्‍यसमाथि आइपर्नेछ भनी त्‍यसलाई थाहै हुँदैन ।23 फुर्क्याउने जिब्रो भएकोले भन्‍दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ ।24 आफ्ना बुबा र आमालाई लुटेर "त्‍यो पाप होइन" भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्‍छ ।25 लोभी मानिसले द्वन्‍द्व निम्त्‍याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्‍नति हुनेछ ।26 आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।27 गरीबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउनेछ ।28 दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्छन्, तर तिनीहरू नष्‍ट हुँदा धर्मीहरूको वृद्धि हुन्‍छ ।