27
भोलिको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन ।2 कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन ।3 ढुङ्गाको बोझ र बालुवाको वजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवै भन्दा गरुङ्गो हुन्छ ।4 झोँकको क्रोध र रीसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र ?5 गुप्त प्रेम भन्दा खुला हप्की बेस हो ।6 मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ ।7 पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तीतो कुरो मीठो लाग्छ ।8 आफ्नो गुँडबाट भड्किएर निस्केको चरा आफ्नो वासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ ।9 अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।10 आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा । टाढाको भाइ भन्दा नजिकको छिमेकी उत्तम हुन्छ ।11 हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिनेछु ।12 विवेकी मानिसले सङ्कष्ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।13 परदेशीको जमानी बस्नेको खास्टो पनि खोस्नू, र त्यसले अनैतिक स्त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्नू ।14 कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को स्वरमा आशिष् दिन्छ भने, त्यो आशिष्लाई श्राप ठानिन्छ ।15 झगडालु पत्नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरी जस्तै हो ।16 त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्नुझैँ हो ।17 फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ ।18 अञ्जीरको रूख गोडमेल गर्नेले यसको फल खानेछ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ ।19 जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।20 जसरी पाताल र एब्बाड्डोन कहिल्यै सन्तुष्ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्ट हुँदैनन् ।21 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।22 मूर्खलाई खलमा वा अन्नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्नेछैन ।23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे ।24 किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र ?25 पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ ।26 ती भेडाहरूले तेरो वस्त्र जुटाउनेछन्, र बाख्राहरूले खेतको मूल्य जुटाउनेछन् ।27 तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुनेछ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुनेछ ।