26
ग्रीष्म ऋतुमा हिउँ वा फसलको समयमा झरी परेझैँ मूर्ख आदरको योग्य हुँदैन ।2 भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणबिनाको श्राप पनि लाग्दैन ।3 कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो ।4 मूर्खलाई त्‍यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्‍यो जस्‍तै हुनेछस् ।5 मूर्खलाई जवाफ दे र त्‍यसको मूर्खतामा मिल् ताकि त्‍यो त्‍यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।6 मूर्खको हातमा सन्‍देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ ।7 पक्षाघातीका झुण्डिएका खुट्टाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्‍छ ।8 मूर्खलाई आदर दिनु घुयेँत्रोमा ढुङ्‌गा बाँध्‍नु जस्‍तै हो ।9 मतवालाको हातमा काँढा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो ।10 मूर्ख वा बटुवालाई ज्‍यालामा काम लगाउनु धनुर्धारीले त्‍यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्‍याउनु जस्‍तै हो ।11 जसरी कुकुर आफ्नै बान्‍तामा फर्केर आउँछ, त्‍यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ ।12 के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस् ? त्‍यसको भन्‍दा त मूर्खको लागि बढी आशा हुन्‍छ ।13 अल्छे मानिसले भन्‍छ, "सडकमा सिंह छ । खुला ठाउँहरूका बीचमा सिंह छ ।14 ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्‍छ ।15 अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्‍यसलाई आफ्नो मुखसम्म पुर्‍याउन पनि त्‍यससित शक्ति हुँदैन ।16 सही न्‍यायसहित प्रतिक्रिया दिने सात जना मानिसहरू भन्‍दा अल्छे मानिस त्‍यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्‍छ ।17 कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवा जस्‍तै हो ।18 त्‍यो घातक काँड हान्‍ने बौलाहा मानिस जस्‍तो हो,19 जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्‍छ, "के मैले ठट्टा गर्दै थिइनँ र ?20 दाउराको कमीले आगो निभ्‍छ, र जहाँ कुरौटो हुँदैन त्‍यहाँ झगडाको अन्‍त्‍य हुन्‍छ ।21 जसरी भुङ्‌ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्‍यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।22 कुरौटेका वचनहरू स्वादिष्‍ठ गाँस जस्‍तै हुन्‍छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।23 माटोको भाँडामा चल्काउने जलप लाएझैँ आघात पुर्याउने ओठ र दुष्‍ट हृदय हुन्‍छ ।24 अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्‍यसले छलछामलाई आश्रय दिन्‍छ ।25 त्‍यसले अनुग्रही भएर बोले तपानि त्‍यसमाथि विश्‍वास नगर्, किनकि त्‍यसको हृदयमा सात वटा घृणित कुराहरू छन् ।26 त्‍यसको घृणालाई छलले ढाकिएको भए तापनि त्‍यसको दुष्‍टता सभामा खुला हुनेछ ।27 खाडल खन्‍ने मानिस त्‍यसभित्र जाकिन्‍छ, र ढुङ्‌गा गुडाउने मानिसमा नै त्‍यो ढुङ्‌गा फर्केर आउनेछ ।28 झूट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ ।