25
यी सोलोमनका थप हितोपदेश हुन् जसलाई यहूदाका राजा हिजकियाका मानिसहरूले प्रतिलिपि गरे ।2 कुनै विषय गोप्य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्‍छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।3 जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्‍यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्‍छ ।4 चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ ।5 त्‍यसै गरी, राजाको उपस्थितिबाट दुष्‍ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठीक काम गरेर स्थापित हुनेछ ।6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्‍च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।7 उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनु भन्‍दा त बरु तँलाई "यहाँ माथि आऊ" भन्‍नु उत्तम हुन्‍छ ।8 तैँले जे देखेको छस्, त्‍यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्‍त्‍यमा तँ के गर्नेछस् ?9 तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बीचमा बहस गर्, र अर्कोको गुप्त कुरोलाई प्रकट नगर् ।10 नत्रता सुन्‍ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउनेछ जसलाई चुप गराउन सकिँदैन ।11 ठीक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरू जस्‍तै हुन्‍छन् ।12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्‍ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।13 कटनीको समयमा हिउँको शीतलझैँ विश्‍वासयोग्य दूत त्‍यसलाई पठाउनेहरूका लागि हुन्‍छ । त्‍यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।14 आफूले नदिएको उपहारबारे धाक लगाउने मानिस पानीबिनाको बादल र बतासझैँ हुन्‍छ ।15 धैर्यताले शासकलाई पनि मनाउन सकिन्‍छ, र कोमल जिब्रोले हड्‌डीलाई गलाउन सक्छ ।16 मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्‍यधिक खाइस् भने तैँले बान्‍ता गर्छस् ।17 आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्‍यो तँदेखि वाक्क भएर तँलाई घृणा गर्छ ।18 आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तीखो काँड जस्‍तै हो ।19 तैँले कष्‍टको समयमा भरोसा गर्ने अविश्‍वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टा जस्‍तै हो ।20 जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्‍याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्‍छ ।21 तेरो शत्रु भोकाएको छ भने त्‍यसलाई खानलाई भोजन दे, र त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पिउनलाई पानी दे ।22 किनकि त्‍यसो गर्नाले तैँले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो खन्‍याउनेछस्, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ ।23 जसरी उत्तरी बतासले पक्कै वृष्‍टि ल्याउँछ, त्‍यसै गरी गुप्त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ ।24 झगडालु पत्‍नीसँग एउटै घरमा बस्‍नु भन्‍दा कौसीको कुनामा बस्‍नु बेस हुन्‍छ ।25 तिर्खाएको मानिसलाई चिसो पानी जस्‍तो हुन्‍छ, टाढाको देशबाट आएको शुभ खबर त्‍यस्तै हुन्‍छ ।26 हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्‍ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्‍छ ।27 अत्‍यधिक मह खानु राम्रो हुँदैन । त्‍यसो गर्नु भनेको मान-सम्मान खोजिरहनु जस्‍तै हो ।28 आत्मसंयमबिनाको मानिस दरार भएको वा पर्खालबिनाको सहर जस्‍तै हो ।