30
याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्‍वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्ः2 निश्‍चय नै म कुनै पनि मानिस भन्‍दा पशु जस्‍तो छु, र मसित मानिसको समझशक्ति छैन ।3 मैले बुद्धि प्राप्त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ ।4 स्वर्ग उक्लेर को तल झरेको छ र ? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र ? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र ? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र ? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो ? निश्‍चय नै तँलाई थाहा होला !5 परमेश्‍वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ ।6 उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुनेछ, र तँ झूटो ठहरिनेछस् ।7 म तपाईंबाट दुई वटा कुरा माग्दछु । म मर्नुअघि ती मबाट नरोक्‍नुहोस् ।8 व्यर्थता र झूटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् ।9 किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, "परमप्रभु को हो र ?" वा गरीब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला ।10 मालिकको सामु त्‍यसको नोकरको निन्‍दा नगर्, नत्रता त्‍यसले तँलाई सराप्‍नेछ, र तँ दोषी बन्‍नेछस् ।11 आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।12 आफ्नै दृष्‍टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् ।13 अहंकारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्‍छ ।14 यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्‌गारा छुरा जस्‍तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।15 जूकाका दुई छोरी छन् । "देऊ, देऊ" भन्‍दै तिनीहरू चिच्‍च्‍याउँछन् । तीन वटा कुरा छन् जुन कहिल्यै सन्‍तुष्‍ट हुँदैनन्, र चार वटा कुरा जसले कहिल्यै "पुग्यो" भन्‍दैनन् ।16 पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्‍तुष्‍ट नहुने जमिन र कहिल्यै "पुग्यो" नभन्‍ने आगो ।17 बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र त्‍यसलाई गिद्धहरूले खानेछन् ।18 तीन वटा कुरा छन्, जुन मेरा लागि ज्‍यादै उदेकका छन्, चार वटा छन्, जसलाई म बुझ्‍न सक्दिनँः19 आकाशमा चीलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बीचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल ।20 व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्‍छः त्‍यसले खाएर आफ्नो मुख पुछ्‌छे अनि भन्‍छे, "मैले कुनै गल्ती गरेकी छैनँ ।21 तीन वटा कुराबाट पृथ्वी काम्छ, र चार वटा कुरालाई यसले सहन सक्दैनः22 राजा भएको नोकर, खानाले टन्‍न अघाएको मूर्ख,23 विवाह गर्ने माया नपाएकी स्‍त्री र आफ्नी मालिक्‍नीलाई पन्‍छाएर उक्त ठाउँमा बस्‍ने नोकर्नी ।24 पृथ्वीमा चार वटा कुरा साना छन्, र पनि तिनीहरू अत्‍यन्‍तै बुद्धिमान् छन्ः25 कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन् ।26 शापानहरू शक्तिशाली प्राणी होइनन्, तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन् ।27 सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हूल बाँधेर अगाडि बढ्छन् ।28 छेपाराहरूलाई तिम्रा दुई हातहरूले समात्‍न सक्‍छौ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्‍छन् ।29 तीन वटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चार वटा छन् जुन शानसँग हिँड्छन्ः30 सिंह पशुहरूमध्‍ये सबै भन्‍दा शक्तिशाली हुन्‍छ, जो कुनै प्राणीदेखि तर्कंदैन ।31 शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।32 आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।33 जसरी दूध मथेर घिउ निस्कन्‍छ, र नाक ठोक्किँदा रगत निस्कन्‍छ, त्‍यसरी नै रीसमा गरिएको कामले द्वन्‍द्व उत्पन्‍न गराउँछ ।