22
धेरै धन-सम्पत्ति भन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदी भन्दा उत्तम हो ।2 धनी र गरीब यस कुरामा समान छन् कि दुवैका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ ।3 विवेकी मानिसले सङ्कष्ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।4 विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।5 टेढा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्नेछन् ।6 बच्चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कनेछैन ।7 धनी मानिसहरूले गरीब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ ।8 अन्याय छर्नेले सङ्कष्टको कटनी गर्नेछ, र त्यसको झोँकको लौरो भाँचिनेछ ।9 उदार दृष्टि भएको मानिस आशिषित् हुनेछ, किनकि त्यसले आफ्नो रोटी गरीबहरूसित बाँडचुँड गर्छ ।10 खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुनेछन् ।11 शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुनेछ ।12 परमप्रभुको दृष्टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।13 अल्छे मानिसले भन्छ, "बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिनेछ ।14 व्यभिचारी स्त्रीको मुख गहिरो खाडल जस्तै हो । त्यसभित्र खस्नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।15 बच्चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।16 आफ्नो धन-सम्पत्ति बढाउन गरीब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्नेछ ।17 आफ्नो कान थाप् र बुद्धिमान्का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।18 किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुनेछ ।19 तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।20 के मैले तेरो लागि अर्ती र ज्ञानका तीस वटा नीति-वचन लेखिदिएको छैनँ र ?21 तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र ?22 गरीबलाई नलुट्, किनकि त्यो गरीब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,23 किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुनेछ ।24 रीसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् ।25 नत्रता तैँले त्यसका मार्गहरू सिक्नेछस्, र तेरो प्राण पासोमा पर्नेछ ।26 धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।27 तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्न सक्छ ?28 तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।29 के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस् ? त्यो राजाहरूका सामु खडा हुनेछ । त्यो सर्वसाधारणको सामु खडा हुनेछैन ।