21
राजाको हृदय परमप्रभुको हातमा भएको खोला जस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।2 हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्टिमा ठीक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।3 बलिदान भन्दा जे ठीक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ ।4 अहंकारी आँखा, घमण्डी हृदय र दुष्टको बत्ती पाप हुन् ।5 परिश्रमीका योजनाहरूले केवल उन्नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।6 झूट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासो जस्तै हो ।7 दुष्टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठीक काम गर्न तिनीहरू इन्कार गर्छन् ।8 दोषी मानिसको बाटो टेढो हुन्छ, तर निर्दोषले ठीक काम गर्छ ।9 झगडालु पत्नीसित एउटै घरमा बस्नु भन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।10 दुष्टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।11 खिल्ली गर्नेलाई दण्ड दिइँदा निर्बुद्धि बुद्धिमान् बन्छ, र बुद्धिमान् मानिसलाई अर्ती दिइँदा त्यसले ज्ञानलाई पक्रिराख्छ ।12 धर्मात्माले दुष्ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।13 गरीबको पुकारामा कान थुन्नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइनेछैन ।14 गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।15 न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ ।16 समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउनेछ ।17 मोजमज्जालाई प्रेम गर्ने गरीब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुनेछैन ।18 दुष्ट मानिस धर्मी मानिसको लागि प्रायश्चित हुन्छ, र विश्वासघाती मानिस सोझो मानिसको लागि प्रायश्चित हुन्छ ।19 झगडालु र रिसालु पत्नीसित बस्नु भन्दा उजाड-स्थानमा बस्नु बेस हुन्छ ।20 इच्छा गरिएको खजाना र तेल बुद्धिमान्को वासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।21 असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्जत पाउँछ ।22 बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।23 आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्टबाट बचाउँछ ।24 घमण्डी र हठी मानिसको नाउँ "खिल्ली उडाउने" हो र त्यसले अभिमानीसाथ व्यवहार गर्छ ।25 अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ ।26 दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।27 दुष्टको बलिदान घृणित हुन्छ । त्यसले खराब अभिप्राय लिएर ल्याउँदा त्यो झनै घृणित हुन्छ ।28 झूटो साक्षी नष्ट हुनेछ, तर ध्यान दिएर सुन्नेले बोलिरहनेछ ।29 दुष्ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्चित हुन्छ ।30 यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।31 घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।