20
दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्‌गल मच्‍चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।2 राजाको डर गर्जिरहेको जवान सिंहको डर जस्‍तै हुन्‍छ । तिनलाई रीस उठाउनेले आफ्नो जीवन गुमाउँछ ।3 द्वन्‍द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।4 अल्छेले शरद् ऋतुमा जोत्दैन । त्‍यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउनेछैन ।5 मानवीय हृदयमा भएको उद्देश्य गहिरो पानी जस्‍तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्नेछ ।6 धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्‍वासयोग्य जन पाउन सक्छ ?7 धर्मात्मा आफ्नो सत्‍यनिष्‍ठामा चल्छ, र त्‍यसलाई पछ्याउने त्‍यसका छोराहरू आशिषित् हुनेछन् ।8 न्‍यायको काम गर्दै सिंहासनमा बस्‍ने राजाले आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन् ।9 कसले भन्‍न सक्छ, "मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु ?10 नमिल्ने नापहरू र असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्‍छ ।11 एउटा बालकलाई पनि त्‍यसका गतिविधिहरूबाट त्‍यसको आचरण शुद्ध र सोझो छ कि छैन भनेर चिनिन्‍छ ।12 सुन्‍ने कान र देख्‍ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो ।13 निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुनेछस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुनेछ ।14 "यो खराब छ, यो खराब छ", ग्राहकले भन्‍छ, तर पर पुगेपछि त्‍यसले घमण्ड गर्छ ।15 सुन छ, र प्रशस्त महङ्‌गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्‍न हो ।16 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्‍यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्‍यो धरौटी राख्‍नू ।17 छलद्वारा प्राप्त रोटीको स्वाद मीठो होला, तर पछि त्‍यसको मुखभरि रोडा हालेसरह हुन्‍छ ।18 सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्‍छन्, र बुद्धिमान् मार्गदर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।19 कुरौटेले गुप्त कुराहरू बाहिर ल्याउँछ । त्‍यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्‌गत नगर् ।20 कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्‍यसको बत्ती निभाइनेछ ।21 सुरुमा झट्टै प्राप्त गरेको पैतृक-सम्पत्तिले अन्‍त्‍यमा थोरै भलाइ गर्नेछ ।22 यसो नभन्, "म यस खराबीको बदला लिनेछु ।" परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुनेछ ।23 परमप्रभुले असमान ढकहरूलाई घृणा गर्नुहुन्‍छ, र बेइमान तराजूहरू ठीक होइनन् ।24 मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्‍छन् भने तब त्‍यसले कसरी आफ्नो मार्ग बुझ्‍न सक्ला त ?25 "यो कुरो पवित्र छ", भनी हतारमा भन्‍नु र भाकल गरिसकेपछि मात्र त्‍यसको बारेमा सोच्‍नु मानिसको लागि पासो हुन्‍छ ।26 बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्, र तिनले अन्‍न चुट्ने चक्काले तिनीहरूलाई प्रहार गर्छन् ।27 मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्‍यसका भित्री भागहरूको खोजी गर्छ ।28 करारको विश्‍वसनीयता र भरोसाले राजालाई जोगाउँछ । प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित हुन्‍छ ।29 युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो ।30 चोट लगाउने मुक्काले खराबीलाई साफ गर्छ, र पिटाइले भित्री भागहरूलाई शुद्ध पार्छ ।