19
बोलीवचनमा कुटिल भई मूर्ख हुनु भन्दा आफ्नो सत्यनिष्ठामा हिँड्ने गरीब मानिस उत्तम हो ।2 ज्ञानबिनाको इच्छा राम्रो हुँदैन, र हतार गर्नेले बाटो बिराउँछ ।3 मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।4 धनले धेरै मित्रहरू बनाउँछ, तर गरीब मानिसचाहिँ आफ्ना मित्रहरूबाट त्यागिन्छ ।5 झूटो साक्षी दण्डबिना उम्कनेछैन, र झूटो कुरो बोल्ने फुत्कनेछैन ।6 धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ती गर्नेछन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ ।7 गरीब मानिसका सबै दाजुभाइले त्यसलाई घृणा गर्छन् भने, त्यसका टाढा जाने मित्रहरूले त झन् कति धेरै त्यसलाई त्याग्लान् ! त्यसले तिनीहरूलाई बोलाउँछ, तर तिनीहरू गइसकेका हुन्छन् ।8 बुद्धि प्राप्त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउनेछ ।9 झूटो साक्षी दण्डबिना उम्कनेछैन, तर झूटो कुरो बोल्नेचाहिँ नष्ट हुनेछ ।10 मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो !11 विवेकले मानिसलाई रिसाउनमा धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो ।12 राजाको क्रोध जवान सिंहको गर्जन जस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीत जस्तै हुन्छ ।13 मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्नीचाहिँ नित्य परिरहने तपतपे झरी जस्तै हो ।14 घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाट आउँछ ।15 अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुनेछ ।16 आज्ञापालन गर्नेले त्यसको जीवनको रखवाली गर्छ, तर आफ्ना मार्गहरूबारे नसोच्नेचाहिँ मर्नेछ ।17 गरीबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुनेछ ।18 आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना ।19 गरम मिजास भएको मानिसले जरिवाना तिर्नैपर्छ । त्यसलाई छुटकारा दिइस् भने तैँले दोस्रो पटक त्यसै गर्नुपर्ने हुन्छ ।20 सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्न सक्छस् ।21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्देश्य नै स्थिर रहनेछ ।22 मानिसले भक्तिको चाह गर्छ, र झूटो बोल्ने भन्दा त गरिब मानिस उत्तम हो ।23 परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुनेछ, र त्यसलाई नोक्सानीले छुँदैन ।24 अल्छेले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पनि ल्याउँदैन ।25 गिल्ला गर्नेलाई हिर्का, र निर्बुद्धि मानिस विवेकी बन्नेछ । समझदार मानिसलाई अनुशासनमा राख्, र त्यसले ज्ञान प्राप्त गर्नेछ ।26 आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्जत ल्याउँछ ।27 हे मेरो छोरो, तैँले अर्ती सुन्न छाडिस् भने तँ ज्ञानका वचनहरूबाट बहकिनेछस् ।28 भ्रष्ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्टको मुखले अधर्मलाई निलिदिन्छ ।29 गिल्ला गर्नेहरूका लागि दण्डाज्ञा र मूर्खहरूको पिठिउँको लागि कोर्रा तयार छ ।