23
तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होशियारीपूर्वक अवलोकन गर् ।2 तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्कु राख् ।3 तिनको स्वादिष्ठ खानेकुराको लालसा नगर्, किनकि यो झूटको खाना हो ।4 धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।5 के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस् ? यो बितेर जानेछ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउनेछन् र यो आकाशमा उडेर जानेछ ।6 दुष्ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्ठ खानेकुराको लालसा नगर् ।7 किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, "खाऊ र पिऊ । " तर त्यसको हृदय तँसित हुँदैन ।8 तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्नेछस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् ।9 मूर्खले सुन्ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्नेछ ।10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् ।11 किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुनेछ ।12 तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।13 बच्चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्नेछैन ।14 त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् ।15 हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्न हुनेछ ।16 तेरो ओठले जे ठीक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउनेछ ।17 तेरो हृदयलाई पापीहरूको ईर्ष्या गर्न नदे, तर दिनैभरि परमप्रभुको भयमा लागिराख् ।18 निश्चय नै एउटा भविष्य छ, र तेरो आशा निराश हुनेछैन ।19 हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा ।20 मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्,21 किनकि मतवाला र घिचुवाहरू गरीब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।22 तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।23 सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् ।24 धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुनेछ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्न हुनेछ ।25 तेरा बुबा र आमा प्रसन्न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।26 हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।27 किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्त्री एउटा साँघुरो इनार हो ।28 त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बीचमा विश्वासघातीहरूको सङ्ख्या बढाउँछे ।29 कोसित कष्ट छ ? कोसित शोक छ ? कोसित कलह छ ? कोसित गुनासो छ ? कोसित बिनाकारण चोट छ ? कसका आँखा राताराता छन् ?30 तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् ।31 मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् ।32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ ।33 तेरा आँखाहरूले अनौठा कुराहरू देख्नेछन्, र तेरो मनले टेढा कुराहरू व्यक्त गर्नेछन् ।34 तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तूलको डोरीको मास्तिर बस्नेझैँ हुनेछ ।35 तैँले भन्नेछस्, "तिनीहरूले मलाई हिर्काए, तर मलाई चोट लागेन ।" तिनीहरूले मलाई पिटे, तर मलाई त्यसको अनुभूति भएन । म कहिले ब्युँझनेछु ? म अर्को चुस्की खोज्नेछु ।"