17
कलहले भरिएको घरमा भोज खानु भन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो ।2 बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउनेछ ।3 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, तर परमप्रभुले नै हृदय जाँच गर्नुहुन्छ ।4 खराब काम गर्नेले दुष्टको ओठमा ध्यान दिन्छ । झूट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।5 गरीबलाई गिल्ला गर्नेले आफ्नो सृष्टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डबिना उम्कनेछैन ।6 नातिनातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।7 सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झूट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ !8 घूस दिनेको लागि यो टुना जस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ ।9 चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्याउनेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ ।10 मूर्खलाई सय कोर्रा प्रहार गर्नु भन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।11 दुष्ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रूर दूत पठाइन्छ ।12 मूर्खलाई त्यसको मूर्खतामा भेट्नु भन्दा बरु बच्चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ ।13 जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्नेछैन ।14 द्वन्द्वको सुरुवात सर्वत्र पानी फैलनु जस्तै हो । त्यसैले विवाद चर्किनुअघि नै त्यहाँबाट हिँडिहाल ।15 दुष्ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् ।16 बुद्धिको विषयमा सिक्न मूर्खले किन पैसा तिर्ने जब कि त्यससित यसलाई सिक्ने कुनै क्षमता नै छैन ?17 मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्टको समयको लागि जन्मेका हुन्छन् ।18 बेसमझको मानिसले बाचा बाँध्छ, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।19 द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्डी भँचाउनेछ ।20 कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।21 जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।22 आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ ।23 न्यायको मार्गलाई बङ्ग्याउन दुष्ट मानिसले गुप्त घूसलाई स्वीकार गर्छ ।24 समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।25 मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।26 धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ ।27 ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।28 चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।