16
हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।2 मानिसका सबै मार्ग उसको आफ्नै दृष्‍टिमा शुद्ध छन्, तर परमप्रभुले अभिप्रायहरू जोख्‍नुहुन्‍छ ।3 आफ्ना कामहरू परमप्रभुमा सुम्प, र तिम्रा योजनाहरू सफल हुनेछन् ।4 परमप्रभुले हरेक थोक त्‍यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्‍टहरूलाई समेत विनाशको दिनको लागि राख्‍नुभएको छ ।5 अहंकारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर यो निश्‍चित छ कि तिनीहरू दण्डबिना उम्कनेछैनन् ।6 करारको विश्‍वसनीयता र भरोसाद्वारा अधर्मको प्रायश्‍चित हुन्‍छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कनेछन् ।7 जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्‍यसका शत्रुहरूलाई पनि त्‍यससित मिलापमा राख्‍नुहुनेछ ।8 अन्‍यायसित कमाएको धेरै धन-सम्पत्ति भन्‍दा बरु ठीकसित कमाएको थोरै नै उत्तम हुन्‍छ ।9 मानिसले आफ्नो हृदयमा योजना बुन्‍छ, तर परमप्रभुले नै त्‍यसका कदमहरू निर्धारण गर्नुहुन्‍छ ।10 राजाको ओठमा अन्‍तर्ज्ञानयुक्त निर्णयहरू हुन्‍छन् । तिनको मुखले न्‍यायलाई धोका दिनुहुँदैन ।11 इमानदार तराजू परमप्रभुबाट आउँछ । थैलीमा भएका सबै ढक उहाँका काम हुन् ।12 राजाले दुष्‍ट कामहरू गर्दा त्‍यसलाई तुच्‍छ ठानिनुपर्छ, किनकि ठीक गरेर नै सिंहासन स्थापित हुन्‍छ ।13 ठीक बोल्ने ओठमा राजा आनन्‍दित हुन्‍छ, र सत्‍य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।14 राजाको क्रोध मृत्‍युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रीसलाई शान्‍त पार्ने कोसिस गर्छन् ।15 राजाको मुहारको ज्‍योतिमा जीवन हुन्‍छ, र तिनको निगाह वसन्‍त ऋतुमा झरी ल्याउने बादल जस्‍तै हो ।16 सुन भन्‍दा बुद्धि प्राप्त गर्नु र चाँदी भन्‍दा समझशक्ति प्राप्त गर्नु उत्तम हुन्‍छ ।17 धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्‍छ । आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ ।18 विनाशअघि घमण्ड आउँछ, र पतनअघि हठी आत्मा आउँछ ।19 घमण्डी मानिसहरूलाई लूटको माल बाँड्नु भन्‍दा बरु गरिब मानिसहरूका बीचमा विनम्र हुनु उत्तम हुन्‍छ ।20 सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउनेछ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुनेछन् ।21 हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्‍छ, र मीठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।22 समझशक्ति भएको व्यक्तिको लागि त्‍यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।23 बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्‍तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ ।24 मीठा वचनहरू महका चाका जस्ता हुन्, जुन प्राणको लागि मीठो हुन्‍छ, र हड्‌डीहरूका लागि चङ्‌गाइ हुन्‍छ ।25 कुनै बाटो मानिसलाई सीधा जस्‍तो लाग्ला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ ।26 परिश्रमीको पेटले नै त्‍यसलाई काम गर्न लगाउँछ । त्‍यसको भोकले त्‍यसलाई अभिप्रेरित गर्छ ।27 बेकम्मा मानिसले खराबीको खाल्डो खन्‍छ, र त्‍यसको बोलीवचन पोल्ने आगोझैँ हुन्‍छ ।28 टेढो मानिसले द्वन्‍द्व निम्त्‍याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ ।29 हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झूट बोल्छ, र त्‍यसलाई बेठीक मार्गमा लैजान्‍छ ।30 द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेढो षड्‌यन्‍त्र रचिरहेको हुन्‍छ । आफ्नो ओठ लेब्र्याउनेले खराबी ल्याउँछ ।31 फुलेको कपाल शोभाको मुकुट हो । ठीक तरिकाले जिएर यसलाई प्राप्त गर्न सकिन्‍छ ।32 योद्धा हुनु भन्‍दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्‍छ, र आफ्नो आत्मालाई नियन्‍त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्ने भन्‍दा बलियो हुन्‍छ ।33 सप्कोमा चिट्ठा त हालिन्‍छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।