15
विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रीस उठाउँछ ।2 बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।3 परमप्रभुको दृष्टि जताततै छ । उहाँले दुष्ट र असलमाथि नजर लगाउनुहुन्छ ।4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्याउँछ ।5 मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्नेचाहिँ विवेकशील हो ।6 धर्मात्माको घरमा ठूलो खजाना हुन्छ, तर दुष्ट मानिसको कमाइले त्यसलाई कष्ट दिन्छ ।7 बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।8 परमप्रभुले दुष्ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।9 परमप्रभुले दुष्ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठीक कुराको पछि लाग्नेलाई उहाँले प्रेम गर्नुहुन्छ ।10 कठोर अनुशासनले आफ्नो बाटो त्याग्नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्नेछ ।11 पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला ?12 गिल्ला गर्ने सुधारदेखि अप्रसन्न हुन्छ । त्यो बुद्धिमान्कहाँ जाँदैन ।13 आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पीरले आत्मालाई चोट पुर्याउँछ ।14 विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।15 थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।16 भ्रमको साथ धेरै धन-सम्पत्ति हुनु भन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।17 घृणा भएको ठाउँमा पुष्टाइएको बाछो खानु भन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो ।18 रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।19 अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।20 बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।21 मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सीधा बाटोमा हिँड्छ ।22 सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।23 उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठीक समयमा बोलिएको वचन कति असल हुन्छ !24 जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ ।25 परमप्रभुले अहंकारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ ।26 परमप्रभुले दुष्ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् ।27 चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर घूसलाई घृणा गर्नेचाहिँ बाँच्नेछ ।28 जवाफ दिनुअघि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।29 दुष्ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नुहुन्छ ।30 आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।31 कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बीचमा रहनेछौ ।32 अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।33 परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअघि विनम्रता आउँछ ।