14
बुद्धिमान् स्त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।2 सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ ।3 मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्को ओठले त्यसको रक्षा गर्छ ।4 गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।5 विश्वासयोग्य साक्षीले झूट बोल्दैन, तर झूटो साक्षीले झूटा कुराहरू निकाल्छ ।6 गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।7 मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउनेछैनौ ।8 समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।9 दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बीचमा स्नेह बाँडचुँड गरिन्छ ।10 हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन ।11 दुष्ट मानिसहरूको घर नष्ट पारिनेछ, तर धर्मी मानिसहरूको पालमा फलिफाप हुनेछ ।12 कुनै बाटो मानिसलाई सोझो जस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ ।13 हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।14 विश्वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्नेछ, तर असल व्यक्तिले आफ्नो इनाम पाउनेछ ।15 बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ ।16 बुद्धिमान् मानिस डराएर दुष्टताबाट टाढै बस्छ, तर मूर्खले निश्चयतासाथ चेतावनीलाई खारेज गरिदिन्छ ।17 झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।18 बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्नेछन् ।20 आफ्नै मित्रहरूबाट समेत गरीब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् ।21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्नेह देखाउने आशिषित् हुन्छ ।22 के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र ? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्वसनीयता र भरोसा प्राप्त गर्नेछन् ।23 सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरीबीमा पुर्याउँछ ।24 बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।25 विश्वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षीले झूटा कुराहरू ओकल्छ ।26 परमप्रभुको भय मान्नेसित बढी निश्चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुनेछ ।27 परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।28 राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूबिना राजकुमार नष्ट हुन्छ ।29 धैर्यवान् मानिससित ठूलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।30 शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्डीहरूलाई सडाउँछ ।31 गरीबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्नेह देखाउनेले उहाँको आदर गर्छ ।32 आफ्ना खराब कामहरूद्वारा दुष्ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।33 बुद्धिले विवेकीको हृदयमा वास गर्छ, र मूर्खहरूका बीचमा समेत त्यसले आफूलाई चिनाउँछ ।34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो ।35 समझदारसित काम गर्ने नोकरमाथि राजाको स्नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रीस पर्छ ।