13
बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।2 आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्वासघातिको भोक हिंसाको लागि हुन्छ ।3 आफ्नो मुखको रखवाली गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर असावधान बोलीवचनले आफ्नै जीवन बर्बाद गर्नेछ ।4 अल्छे मानिसको भोकले लालसा गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्ट हुनेछ ।5 धर्मात्माले झूटलाई घृणा गर्छ, तर दुष्टले आफैलाई घृणित तुल्याउँछ, र लज्जास्पद कुरो गर्छ ।6 धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।7 कोही मानिस धनी भए जस्तो गर्छ, जब कि त्यससँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्चै धनी हुन्छ ।8 धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरीब मानिसले धम्की सुन्नुपर्दैन ।9 धर्मात्माको बत्ती बलिरहन्छ, तर दुष्टको बत्ती निभाइनेछ ।10 घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्नेसित बुद्धि हुन्छ ।11 बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।12 आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पूरा भएको तृष्णा जीवनको रूख हो ।13 अर्तीलाई तुच्छ ठान्नेले आफैमा विनाश ल्याउँछ, तर आज्ञालाई आदर गर्नेलाई इनाम दिइनेछ ।14 बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तिमीलाई मृत्युका जालहरूबाट जोगाउँछ ।15 असल अन्तर्दृष्टिले स्नेह प्राप्त गर्छ, तर विश्वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।16 समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।17 दुष्ट दूत सङ्कष्टमा फस्छ, तर विश्वासयोग्य दूतले मिलाप ल्याउँछ ।18 अर्तीलाई बेवास्ता गर्नेले गरीबी र लाज पाउनेछ, तर सुधारबाट सिक्ने जनमा आदर आउनेछ ।19 पूरा भएको इच्छा भोकको लागि मीठो हुन्छ, तर मूर्खहरू आफ्नो दुष्टताबाट फर्कन मन पराउँदैनन् ।20 बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुनेछौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ ।21 विपत्तिले पापीहरूलाई खेद्नेछ, तर धर्मी मानिसले भलाइको इनाम पाउनेछ ।22 असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ ।23 गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।24 आफ्नो छोरोलाई अनुशासनमा नराख्नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होशियारीसाथ अर्ती दिन्छ ।25 आफ्नो भोक तृप्त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्टको पेट सधैँ भोकभोकै हुन्छ ।