12
अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्नेचाहिँ अबुझ हो ।2 परमप्रभुले असल मानिसलाई स्नेह देखाउनुहुन्छ, तर दुष्ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।3 दुष्टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन ।4 चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्नीचाहिँ आफ्नो हड्डी सडाउने रोग जस्तै हो ।5 धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्टको सल्लाह छलपूर्ण हुन्छ ।6 दुष्ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् ।7 दुष्ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खडा रहनेछ ।8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेढो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।9 आफ्नो प्रतिष्ठाबारे घमण्ड गरेर भोजन नहुनु भन्दा बरु नोकर भएर महत्त्वहीन पदमा बस्नु बेस हो ।10 धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्टको दया पनि क्रूर हुन्छ ।11 आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्न उब्जाउनेछ, तर बेकामको कामको पछि कुद्नेचाहिँ बेसमझको हुन्छ ।12 दुष्टले खराब मानिसहरूले अरूबाट चोरेको वस्तुको इच्छा गर्छ, तर धर्मी मानिसहरूको फल तिनीहरू आफैबाट आउँछ ।13 दुष्ट व्यक्ति त्यसकै खराब बोलीवचनबाट पासोमा पर्छ, तर धर्मी व्यक्तिचाहिँ सङ्कष्टबाट उम्कन्छ ।14 जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।15 मूर्खको बाटो त्यसको आफ्नै दृष्टिमा ठीक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।16 मूर्खले आफ्नो रीस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।17 सत्य बोल्नेले ठीक कुरा बोल्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ ।18 असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्को बोलीले चङ्गाइ ल्याउँछ ।19 सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झूट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ ।20 खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।21 धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।22 परमप्रभुले झूट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।23 विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।24 परिश्रमीको हातले शासन गर्नेछ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइनेछ ।25 मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्न पार्छ ।26 धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ ।27 अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउनेछ ।28 ठीक मार्गमा हिँड्नेहरूले जीवन पाउनेछ, र त्यस मार्गमा मृत्यु हुँदैन ।