11
बेठीक तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलमा उहाँ आनन्‍द मनाउनुहुन्‍छ ।2 जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।3 सोझाहरूको निष्‍ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्‍वासघातीहरूका टेढा मार्गहरूले तिनीहरूलाई नष्‍ट गर्छन् ।4 क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्‍छ, तर ठीक गर्नाले मृत्‍युबाट जोगाउँछ ।5 खोटरहित व्यक्तिको ठीक आचरणले उसको मार्ग सीधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुनेछ ।6 परमेश्‍वरलाई खुसी पार्नेहरूको ठीक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।7 दुष्‍ट मानिस मर्दा त्‍यसको आशा नष्‍ट हुन्‍छ, र त्‍यसको शक्तिमा भएको आशा निरर्थक हुन्‍छ ।8 धर्मात्मा सङ्‌कष्‍टबाट बचाइन्‍छ, र त्‍यसको साटो यो दुष्‍टमाथि आइपर्छ ।9 ईश्‍वरहीन व्यक्तिले आफ्नो मुखले त्‍यसको छिमेकीलाई नष्‍ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्‍छन् ।10 धर्मी मानिसहरूले उन्‍नति गर्दा सहर नै रमाउँछ, तर दुष्‍टहरू नष्‍ट हुँदा रमाहट हुन्‍छ ।11 परमेश्‍वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्‍छ, तर दुष्‍टहरूको मुखद्वारा सहर भताभुङ्‌ग हुन्‍छ ।12 आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्‍छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।13 चारैतिर बदख्‍वाइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्‍वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।14 बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्‍छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।15 परदेशीको लागि ऋणको जमानी बस्‍नेले निश्‍चय नै हानि भोग्‍नेछ, तर त्‍यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्‍छ ।16 अनुग्रही स्‍त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।17 दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रूर व्यक्तिले आफैलाई चोट पुर्‍याउँछ ।18 दुष्‍ट व्यक्तिले आफ्नो ज्‍याला पाउन झूट बोल्छ, तर ठीक कुरो छर्नेले सत्‍यताको ज्‍याला कटनी गर्नेछ ।19 ठीक कुरो गर्ने इमानदार व्यक्ति जिउनेछ, तर खराबीको पिछा गर्नेचाहिँ मर्नेछ ।20 कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्‍द मनाउनुहुन्‍छ ।21 यो कुरो निश्‍चित छ कि दुष्‍ट व्यक्ति दण्डबिना उम्कनेछैन, तर धर्मी मानिसहरूका सन्‍तानहरू सुरक्षित रहनेछन् ।22 विवेकहीन सुन्‍दरी स्‍त्री सुँगुरको नाकमा सुनको नत्थ जस्‍तै हो ।23 धर्मी मानिसहरूका इच्‍छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।24 जसले छर्छ, त्‍यसले धेरै बटुल्नेछ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्‍यो दरिद्रतामा पर्छ ।25 उदार व्यक्तिको उन्‍नति हुनेछ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउनेछ ।26 अन्‍न बेच्‍न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्‍नेको शिरमा असल उपहारहरूको मुकुट हुनेछ ।27 परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्‍छ, तर खराबीको खोजी गर्नेले त्‍यही पाउनेछ ।28 आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुनेछ, तर धर्मी मानिसहरू पातझैँ मौलाउनेछन् ।29 आफ्नै घरानामाथि सङ्‌कष्‍ट ल्याउनेको भाग बतास हुनेछ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुनेछ ।30 धर्मात्मा जीवनको रूखझैँ हुनेछ, तर हिंसाले जीवन लिन्‍छ ।31 धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्‍ट र पापीले झन् कति बढी पाउलान् !