10
सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।2 दुष्‍टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठीक गर्नाले तपाईंलाई मृत्‍युबाट जोगाउँछ ।3 परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको इच्‍छालाई निराश तुल्याइदिनुहुन्‍छ ।4 अल्छे हातले मानिसलाई गरीब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।5 बुद्धिमान् छोरोले ग्रीष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्‍नेले अपमान ल्याउँछ ।6 परमेश्‍वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्‍टहरूको मुख हिंसाले ढाकिएको हुन्‍छ ।7 धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्‍टहरूको नामचाहिँ सडेर जानेछ ।8 संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुनेछ ।9 निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेढो बनाउने पक्राउमा पर्नेछ ।10 द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्‍याउँछ, तर बकबके मूर्ख फ्याँकिनेछ ।11 धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्‍टहरूको मुखमा हिंसा लुकेको हुन्‍छ ।12 घृणाले द्वन्‍द्व निम्त्‍याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्‍छ ।13 बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्‍छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्‍चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।15 धनी मानिसको सम्पत्ति उसको किल्लाबन्‍दी गरिएको सहर हो, तर गरीबहरूको गरीबी तिनीहरूको विनाश हो ।16 धर्मी मानिसको ज्‍यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ ।17 अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्‍छ ।18 घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्‍छ, र बदख्‍वाइँ फैलाउनेचाहिँ मूर्ख हो ।19 जहाँ धेरै कुरा गरिन्‍छ, त्‍यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमान् हो ।20 धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्‍टहरूको हृदयमा थोरै मूल्य हुन्‍छ ।21 धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।22 परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्‍यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न ।23 दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।24 दुष्‍ट व्यक्तिको डरले त्‍यसलाई उछिन्‍नेछ, तर धर्मी व्यक्तिको इच्‍छा पूरा हुनेछ ।25 दुष्‍टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो ।26 दाँतमा सिर्का र आँखामा धूवाँ जस्‍तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्‍यस्तै हुन्‍छ ।27 परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्‍टको आयु छोटिनेछ ।28 धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्‍द हो, तर दुष्‍ट मानिसहरूको आयु छोटिनेछ ।29 परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो ।30 धर्मात्मा कहिल्यै उखेलिनेछैन, तर दुष्‍टचाहिँ पृथ्वी रहनेछैन ।31 धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्‍छ, तर भड्काउने जिब्रो काटिनेछ ।32 धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्‍दछ, तर दुष्‍टको मुखले बाङ्‌गोटिङ्‌गो कुरा मात्र जान्‍दछ ।