8
के बुद्धिले आह्वान गर्दैन र ? के समझशक्तिले त्यसको स्वर उचाल्दैन र ?2 बाटोको छेउका उच्च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।3 सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को स्वरले यसरी कराउँछ,4 "हे मानिसहरू हो, म तिमीहरूलाई नै आह्वान गर्दछु । मेरो स्वर मानव-जातिका छोराहरूका लागि हो ।5 तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्त गर ।6 सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउनेछु, र मेरो ओठ खुला हुँदा मैले सीधा कुराहरू भन्नेछु ।7 किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्टता मेरो ओठको लागि घृणित कुरो हो ।8 मेरो मुखका सबै वचन न्यायपूर्ण छन् । तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन् ।9 बुझ्ने व्यक्तिको लागि ती सबै सीधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।10 चाँदी भन्दा मेरो निर्देशनलाई प्राप्त गर । निखुर सुन भन्दा मेरो ज्ञानलाई प्राप्त गर ।11 किनकि बुद्धि रत्नहरू भन्दा बहुमूल्य हुन्छ । कुनै पनि खजाना यसको समान छैन ।12 म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु ।13 परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहंकार, दुष्ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।14 मसित असल सरसल्लाह र पक्का बुद्धि छ । म अन्तर्दृष्टि हुँ । मसित सामर्थ्य छ ।15 मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् ।16 मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन् ।17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् ।18 मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।19 मेरो फल सुन भन्दा अर्थात् निखुर सुन भन्दा श्रेष्ठ छ । मेरो उत्पादन निखुर चाँदी भन्दा श्रेष्ठ छ ।20 म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बीचमा हिँड्छु ।21 परिणामस्वरूप, मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तिले सम्पन्न तुल्याउनेछु । म तिनीहरूका ढुकुटीहरू भरिदिनेछु ।22 परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरू भन्दा पहिले नै सृष्टि गर्नुभयो ।23 पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो ।24 महासागरहरू हुनु भन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनु भन्दा पहिले नै मलाई जन्म दिइयो ।25 पहाडहरू स्थापित गरिनुअघि, डाँडाहरू बनाइनुअघि म जन्मेको थिएँ ।26 परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धूलो बनाउनुअघि म जन्मेको थिएँ ।27 उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ ।28 उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।29 उहाँको आज्ञाबिना पानी आफ्नो सिमाना भन्दा बाहिर नजाओस् भन्नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।30 एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ ।31 म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।32 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुनेछन् ।33 मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर ।34 मेरो कुरा सुन्ने जन आशिषित् हुनेछ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्नेछ ।35 किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउनेछ ।36 तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।"