7
हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्‍चय गरेर राख् ।2 मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानी जस्‍तै जोगाइराख् ।3 तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् ।4 बुद्धिलाई भन्, "तिमी मेरी बहिनी हौ", र समझशक्तिलाई आफ्नो आफन्‍त भन् ।5 तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउनेछन् ।6 मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ ।7 मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बीचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ ।8 त्‍यो जवान मानिस त्‍यस स्‍त्री बस्‍ने गल्ली नजिकबाट गयो, र त्‍यो स्‍त्रीको घरतर्फ लाग्यो ।9 साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।10 एउटी स्‍त्रीले त्‍यसलाई भेटी, जसले वेश्याले जस्‍तै पहिरन लगाएकी थिई र त्‍यसको हृदय धूर्त थियो ।11 त्‍यो चञ्‍चली र जिद्दीवाल थिई । त्‍यो आफ्नो घरमा बस्दिनथी ।12 त्‍यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्‍यो लुकेर बस्थी ।13 त्‍यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्‍ज चेहरा लिएर भनी,14 "आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पूरा गरेँ ।15 त्‍यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।16 मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्‌गीन तन्‍ना ओछ्याएकी छु ।17 मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु ।18 आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।19 किनकि मेरा पति घरमा हुनुहुन्‍न । उहाँ लामो यात्रामा जानुभएको छ ।20 उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुनेछ ।21 धेरै कुराकानी गरेर त्‍यो उसकहाँ फर्की । त्‍यसले आफ्ना मोहित तुल्याउने कुराहरूले उसलाई फकाई ।22 मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्‍यो अकस्मात् स्‍त्रीको पछि लाग्यो ।23 वाणले त्‍यसको कलेजो नछेडेसम्म त्‍यो पछि लागरह्यो । त्‍यो जालतिर कुदिरहरेको चरो जस्‍तो थियो । आफ्नो ज्‍यानै गुमाउनु पर्थ्यो भनी त्‍यसलाई थाहा थिएन ।24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्‍यान देओ ।25 तिमीहरूको हृदय त्‍यसका मार्गहरूमा नलागोस् । त्‍यसका मार्गहरूमा बरालिएर नजाओ ।26 त्‍यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्‍यसका सिकारहरू धेरै छन् ।27 त्‍यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्‍युका अन्धकारपूर्ण कोठाहरूमा जान्‍छन् ।