6
हे मेरो छोरो, आफ्नो छिमेकीको ऋणको लागि तँ जमानी बसेको छस्, वा आफूले नचिनेको व्यक्तिको ऋणको लागि तैँले प्रतिज्ञा गरेको छस् भने,2 तेरो प्रतिज्ञाद्वारा तैँले आफैलाई पासो थापेको छस्, र तेरो मुखको वचनद्वारा तँ पक्रिएको छस् ।3 हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस् । गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामिला राख ।4 आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्‍द हुन नदे ।5 सिकारीको हातबाट हरिण उम्केझैँ र व्याधको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।6 ए अल्छे मानिस, कमिलालाई हेर् । त्‍यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् ।7 त्‍यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन,8 तरै पनि ग्रीष्म ऋतुमा त्‍यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्‍चय गर्छ ।9 ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्‍ने छस् ? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस् ?10 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले11 गरिबी चोरझैँ आउनेछ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउनेछ ।12 बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलीवचनद्वारा जिउँछ ।13 त्‍यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्‌केत गर्छ र आफ्ना औँलाले इशारा गर्छ ।14 त्‍यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ । त्‍यसले सधैँ विवाद निम्त्‍याउँछ ।15 त्‍यसकारण त्‍यसको विपत्तिले त्‍यसलाई एकै क्षणमा आक्रमण गर्नेछ । क्षण भरमा नै निको नहुने गरी त्‍यो टुट्नेछ ।16 छ वटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ ।17 अहंकारी व्यक्तिका आँखा, झूट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात,18 दुष्‍ट योजनाहरू रच्‍ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा,19 झूट बोल्ने साक्षी र दाजुभाइहरूका बीचमा विवाद उत्पन्‍न गर्ने मानिस ।20 हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्‍याग् ।21 तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् ।22 तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्नेछन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्नेछन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउनेछन् ।23 किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्‍योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् ।24 यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउनेछ, र त्‍यसका चिल्ला वचनहरूबाट जोगाउनेछ ।25 त्‍यसको सुन्‍दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्‍यसका आँखाले तँलाई नफसाओस् ।26 वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।27 के आफ्नो लुगा नडढाइकन कसैले आफ्नो काखमा आगो राख्‍न सक्छ ?28 के आफ्नो खुट्टा नजलाइकन कुनै मानिस आगोको भुङ्‌ग्रोमा हिँड्न सक्छ ?29 आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्‍यस्तै हुन्‍छ । त्‍यससित सुत्‍ने मानिस दण्डबिना उम्कनेछैन ।30 भोकाएको मानिसले आफ्नो भोक मेट्न चोरी गर्‍यो भने मानिसहरूले त्‍यसलाई तुच्‍छ ठान्‍दैनन् ।31 तापनि त्‍यो पक्राउ पर्‍यो भने त्‍यसले आफूले चोरेको सात गुणा बढी तिर्नुपर्ने हुन्‍छ । त्‍यसले आफ्नो घरमा भएको हरेक थोक दिनुपर्ने हुन सक्छ ।32 व्यभिचार गर्ने व्यक्ति समझबिनाको हुन्‍छ । यसो गर्नेले आफैलाई नष्‍ट पार्छ ।33 त्‍यो चोट र लाजको हकदार बन्‍छ, र त्‍यसको अपमान मेटिनेछैन ।34 किनकि लालचले मानिसलाई क्रोधित तुल्याउँछ । त्‍यसले बदला लिँदा कृपा देखाउनेछैन ।35 त्‍यसले कुनै क्षतिपूर्ति स्वीकार गर्नेछैन, र धेरै घूस दिए तापनि त्‍यसलाई किन्‍न सकिँदैन ।