128
परमप्रभुको आदर गर्ने हरेक व्यक्ति धन्यको हो जो उहाँका मार्गहरूमा हिँड्छ । 2 तिम्रो हातले जे दिन्छ, त्यसमा तिमी आनन्दित हुनेछौ । तिमी आशिषित् र समृद्ध हुनेछौ । 3 तिम्रो घरमा तिम्री पत्नी फल्दोफुल्दो दाखको बोट जस्तो हुनेछिन् । तिम्रा छोराछोरीहरू टेबिलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैँ हुनेछन् । 4 हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्चै आशिषित् हुनेछ । 5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको समृद्धि देख्न सक्नेछौ । 6 आफ्ना छोराछोरीहरूका छोराछोरीहरू हेर्नलाई तिमी बाँच्नेछौ । इस्राएलमा शान्ति होस् ।