119
तिनीहरू धन्‍य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिँड्छन् । 2 तिनीहरू धन्‍य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन्, जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन् । 3 तिनीहरूले कुनै खराबी गर्दैनन् । तिनीहरू उहाँका मार्गहरूमा हिँड्छन् । 4 तपाईंले हामीलाई तपाईंका शिक्षाहरू पालन गर्ने आज्ञा दिनुभएको छ, ताकि हामी तिनलाई होशियारीसाथ पालन गर्न सकौँ । 5 तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्‍थ्‍यो ! 6 तब मैले तपाईंका सबै आज्ञाहरूलाई विचार गर्दा म लाजमा पर्ने थिइनँ । 7 मैले तपाईंका धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्‍यवाद दिनेछु । 8 म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्ता नगर्नुहोस् । बेथ 9 जवान व्यक्तिले आफ्नो मार्ग कसरी शुद्ध राख्‍न सक्छ ? तपाईंको वचन पालन गरेर सक्छ । 10 आफ्नो सारा हृदयले म तपाईंलाई खोज्दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् । 11 तपाईंको वचन मैले आफ्नो हृदयमा जम्मा गरेको छु ताकि तपाईंको विरुद्धमा मैले पाप गर्नु नपरोस् । 12 हे परमप्रभु, तपाईं धन्‍यको हुनुहुन्‍छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । 13 तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्नो मुखले घोषणा गरेको छु । 14 सारा धनसम्पत्ति भन्‍दा बढी म तपाईंको करारका आदेशहरूका मार्गमा आनन्‍दित हुन्‍छु । 15 म तपाईंको सुझावहरूमा ध्‍यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्ता गर्नेछु । 16 म तपाईंका विधिहरूमा खुसी हुन्‍छु । तपाईंको वचन म बिर्सनेछैन । गिमेल 17 आफ्नो सेवकप्रति कृपालु हुनुहोस् ताकि म बाँच्‍न र तपाईंको वचन पालन गर्न सकूँ । 18 मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्‍न सकूँ । 19 देशमा म विदेशी हुँ । तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस् । 20 हर समय तपाईंका धार्मिक आदेशहरू जान्‍ने उत्कट चाहनाले गर्दा मेरा इच्‍छाहरू चूर्ण भएका छन् । 21 तपाईंले घमण्डीलाई हप्काउनुहुन्‍छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्‍छन् । 22 अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु । 23 शासकहरूले मलाई षड्‌यन्‍त्र र निन्‍दा गरे पनि, तपाईंको सेवकले तपाईंका विधिहरूमा ध्‍यान दिन्‍छ । 24 तपाईंका करारका आदेशहरू मेरो आनन्‍द हुन् र तिनीहरू मेरा सल्लाहकारहरू हुन् । दालेथ 25 मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् । 26 तपाईंलाई मैले आफ्ना मार्गहरू भनेँ र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । 27 तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस्, ताकि तपाईंका अचम्मका शिक्षाहरूमा म ध्‍यान गर्न सकूँ । 28 शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् । 29 छलको मार्ग मबाट हटाउनुहोस् । तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस् । 30 विश्‍वस्तताको मार्गलाई मैले चुनेको छु । तपाईंका धार्मिक आदेशहरूलाई सधैँ मैले आफ्नो सामु राखेको छु । 31 तपाईंका करारका आदेशहरूमा म टाँसिन्‍छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् । 32 तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु, किनकि त्‍यसो गर्न तपाईंले मेरो हृदयलाई ठूलो बनाउनुहुन्‍छ । हे 33 हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्‍त्‍यसम्म नै पालन गर्नेछु । 34 मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्नो सारा हृदयले यो म पालन गर्नेछु । 35 तपाईंका आज्ञाहरूका मार्गमा मलाई डोर्‍याउनुहोस्, किनकि त्‍यसमा हिँड्न म खुसी हुन्‍छु । 36 मेरो हृदयलाई तपाईंका करारका आदेशहरूतिर, र अधार्मिक फाइदाबाट टाढा लैजानुहोस् । 37 व्यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् । 38 तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पूरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो । 39 मलाई डर लाग्‍ने अपमानहरू हटाइदिनुहोस्, किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्‍छन् । 40 हेर्नुहोस्, मैले तपाईंका सुझावहरूको उत्कट इच्‍छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् । वाव 41 हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् । 42 तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु । 43 मेरो मुखबाट सत्‍यको वचन नलानुहोस्, किनकि मेरो आशा तपाईंका धार्मिक आदेशहरूमा छन् । 44 तपाईंको वचन म सदासर्वदा निरन्‍तर पालन गर्नेछु । 45 म सुरक्षित भएर हिँड्नेछु किनकि तपाईंका सुझावहरूको खोजी म गर्छु । 46 तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्‍नेछु र म लाज मान्‍नेछैन । 47 तपाईंका आज्ञाहरूमा म खुसी हुन्‍छु, जसलाई म अति प्रेम गर्छु । 48 तपाईंका आज्ञाहरूतिर म आफ्ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्‍यान गर्नेछु । जाइन् 49 तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आशा दिनुभएको छ । 50 यो मेरो सङ्‌कष्‍टमा मेरो सान्‍त्वना होः कि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ । 51 घमण्डीहरूले मेरो खिसी गरेका छन्, तापनि म तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन । 52 हे परमप्रभु, प्राचीन कालदेखि नै मैले तपाईंका धार्मिक आदेशहरूका बारेमा विचार गरेको छु, र म आफैलाई सान्‍त्वना दिन्‍छु । 53 तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्‍टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ । 54 म अस्थायी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन् । 55 हे परमप्रभु, म रातको समयमा तपाईंको नाउँको बारेमा विचार गर्छु र म तपाईंको व्यवस्था पालन गर्छु । 56 यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु । हेथ 57 परमप्रभु मेरो भाग हुनुहुन्‍छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु । 58 तपाईंको कृपाको निम्ति म दिलोज्‍यानले बिन्‍ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् । 59 मैले आफ्ना मार्गहरू जाँच गरेँ र मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ । 60 तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ । 61 दुष्‍टहरूका डोरीहरूले मलाई पासोमा परेका छन् । मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैन । 62 तपाईंका धार्मिक आदेशहरूका कारणले तपाईंलाई धन्‍यवाद दिन म मध्‍यरातमा उठ्छु । 63 तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जनाको म एक जना मित्र हुँ । 64 हे परमप्रभु, पृथ्वी तपाईंको करारको विश्‍वस्तताले भरिपूर्ण छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । टेथ 65 हे परमप्रभु, तपाईंको वचनको माध्‍यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको छ । 66 मलाई ठीक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु । 67 सङ्‌कष्‍टमा पर्नअघि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु । 68 तपाईं असल हुनुहुन्‍छ र असल गर्ने तपाईं नै हुनुहुन्‍छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । 69 अहंकारीहरूले झूटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु । 70 तिनीहरूका हृदय कठोर भएका छन्, तर म तपाईंको व्यवस्थामा खुसी हुन्‍छु 71 मैले सतावट भोगेको मेरो निम्ति असल हुन्‍छ, ताकि म तपाईंका विधिहरू सिक्‍न सकूँ । 72 तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौँ टुक्राहरू भन्‍दा बढी मूल्यवान छन् । योध 73 तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्‍न सकूँ । 74 तपाईंलाई आदर गर्नेहरू मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आशा पाउँछु । 75 हे परमप्रभु, तपाईंका आदेशहरू निष्पक्ष छन् र विश्‍वस्ततामा तपाईंले मलाई कष्‍ट दिनुभयो भनी म जान्‍दछु । 76 आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्‍वस्तताले मलाई सान्‍त्वना देओस् । 77 मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो । 78 घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्‍दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्‍यान गर्नेछु । 79 तपाईंलाई आदर गर्नेहरू मतिर फर्कून्, जसले तपाईंका करारका आदेशहरू जान्‍दछन् । 80 तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ । काफ 81 तपाईंले मलाई बचाउने आशा गरेर म मूर्च्‍छित हुन्‍छु । तपाईंकै वचनमा म आशा गर्छु । 82 तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्‍छा गर्छन् । तपाईंले मलाई कहिले सान्‍त्वना दिनुहुनेछ ? 83 किनकि म धूवाँमा राखेको मशक जस्‍तो भएको छु । तपाईंका विधिहरू म बिर्सिन्‍न । 84 तपाईंको सेवकले कहिलेसम्म यो कुरा सहनु पर्ने हो ? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्‍याय गर्नुहुनेछ ? 85 तपाईंको व्यवस्थालाई अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् । 86 तपाईंका सबै आज्ञाहरू विश्‍वसनीय छन् । ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् । मलाई सहायता गर्नुहोस् । 87 तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्‍त्‍य गरेका छन्, तर तपाईंका सुझावहरूलाई म इन्कार गर्दिनँ । 88 तपाईंको अटल प्रेमले मलाई जीवित राख्‍नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ । लामेध 89 हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्‍छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थापित छन् । 90 तपाईंको विश्‍वसनीयता सबै पुस्तामा रहन्‍छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्‍छ । 91 तपाईंले आफ्नो धार्मिक आदेशहरूमा भन्‍नुभएझैँ आजको दिनसम्म सबै थोक निरन्‍तर रहन्‍छ, किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन् । 92 तपाईंको व्यवस्था नै मेरो आनन्‍द भएको थिएन भने, म आफ्नो कष्‍टमा नाश भएको हुन्‍थेँ । 93 तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तीद्वारा नै जीवित राख्‍नुभएको छ । 94 म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु । 95 दुष्‍टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्‍न खोज्‍नेछु । 96 सबै थोकका सिमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू भने सिमा भन्‍दा परसम्म फराकिला छन् । मेम 97 ओहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्छु ! यो नै मेरो दिनभरिको ध्‍यान हो । 98 तपाईंका आज्ञाहरूले मलाई आफ्ना शत्रुहरू भन्‍दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैँ मसँग छन् । 99 मेरा शिक्षकहरू भन्‍दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्‍यान गर्छु । 100 म भन्‍दा पाकाहरू भन्‍दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो । 101 हरेक खराब मार्गबाट मैले आफ्ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ । 102 तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ । 103 तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वादिला छन् । हो, मेरो मुखमा मह भन्‍दा पनि गुलिया छन् ! 104 तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झूटो मार्गलाई म घृणा गर्छु । नुन 105 तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्‍यालो हो । 106 मैले शपथ खाएको छु र पक्का गरेको छु, कि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु 107 म धेरै कष्‍टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्‍तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ । 108 हे परमप्रभु, मेरो मुखको स्वेच्‍छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् । 109 मेरो जीवन सधैँ मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्‍न । 110 दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन । 111 तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ती मेरो हृदयको आनन्‍द हुन् । 112 सदासर्वदा अन्‍त्‍यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ । समेख 113 दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु । 114 तपाईं मेरो लुक्‍ने ठाउँ र ढाल हुनुहुन्‍छ । तपाईंको वचनमा म आशा गर्छु । 115 हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ । 116 मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आशामा लज्‍जित हुनु नपरोस् । 117 मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैँ तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु । 118 तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्‍छ, किनकि ती मानिसहरू छली र अविश्‍वसनीय छन् । 119 तपाईंले दुष्‍टहरूलाई फोहोरझैँ हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु । 120 तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ । ऐयिन 121 जे निष्पक्ष र ठीक छ सो म गर्छु । मेरा अत्‍याचारीहरूका हातमा मलाई नदिनुहोस् । 122 तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् । 123 तपाईंको उद्धारको निम्ति र तपाईंको धार्मिक वचनको निम्ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन् । 124 तपाईंको सेवकलाई आफ्नो करारको विश्‍वस्तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् । 125 म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्‍न सकूँ । 126 यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्‌ग गरेका छन् । 127 साँच्‍चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निखुर सुन भन्‍दा धेरै प्रेम गर्छु । 128 यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झूटका हरेक मार्गलाई म घृणा गर्छु । पेका 129 तपाईंका नियमहरू अचम्मका छन् । त्‍यसैले म तिनलाई पालन गर्छु । 130 तपाईंका वचनहरूको व्याख्याले ज्‍योति दिन्‍छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्‍छ । 131 म आफ्नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्‍छा म गर्छु । 132 तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैँ गर्नुभएझैँ मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् । 133 तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापलाई ममाथि राज्‍य गर्न नदिनुहोस् । 134 मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ । 135 तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । 136 मेरा आँखाहरूबाट आँसुका बलिन्‍द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् । साधे 137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ र तपाईंका आदेशहरू निष्पक्ष छन् । 138 तपाईंले आफ्नो करारका आदेशहरू धार्मिक रूपमा र विश्‍वस्ततासाथ दिनुभएको छ । 139 रीसले मलाई नष्‍ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्‍छन् । 140 तपाईंको वचनलाई धेरै जाँचिएको छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ । 141 म तुच्‍छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्‍न । 142 तपाईंको न्‍याय सदासर्वदा ठीक हुन्‍छ र तपाईंको व्यवस्था भरपर्दो छ । 143 सङ्‌कष्‍ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्‍द नै हुन् । 144 तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ । कोफ 145 मैले आफ्नो सम्पूर्ण हृदयले पुकारा गरेँ, "हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु । 146 म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु । 147 बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आशा गर्छु । 148 रातका पहरहरू बदलिनुअघि नै मेरा आँखाहरू खुला हुन्‍छन् ताकि म तपाईंको वचनमा ध्‍यान गर्न सकूँ । 149 तपाईंको करारको विश्‍वस्ततामा मेरो स्‍वर सुन्‍नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्‍तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ । 150 मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् । 151 हे परमप्रभु, तपाईं नजिक हुनुहुन्‍छ र तपाईंका सबै आज्ञाहरू भरपर्दा छन् । 152 धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकेँ जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्थापित गर्नुभएको थियो । रेश 153 मेरो कष्‍टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किनकि म तपाईंको व्यवस्था बिर्सिन्‍न । 154 मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्‍नुहोस् । 155 उद्धारचाहिँ दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् । 156 हे परमप्रभु, तपाईंका कृपापूर्ण कामहरू महान् छन् । तपाईंले सधैँ गर्नुभएझैँ मलाई जीवित राख्‍नुहोस् । 157 मलाई सताउनेहरू र मेरा वैरीहरू धेरै जना छन्, तापनि म तपाईंका करारका देशहरूबाट तर्केको छैन । 158 धोकेबाजलाई म घृणाको दृष्‍टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन् । 159 हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्‍वस्तताद्वारा प्रतिज्ञा गर्नुभएझैँ मलाई जीवित राख्‍नुहोस् । 160 तपाईंको वचनको सार सत्‍य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्‍छन् । शीन 161 शासकहरूले मलाई बिनाकारण सताउँछन्, तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर छ । 162 कसैले धेरै लूटको माल पाएझैँ म तपाईंको वचनमा आनन्‍दित हुन्‍छु । 163 झूटलाई म घृणा र तिरस्कार गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु । 164 तपाईंको धार्मिक आदेशहरूको कारणले दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु । 165 तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूसँग महान् शान्‍ति हुन्‍छ । तिनीहरूलाई कुनै कुराले ठेस खान दिँदैन । 166 हे परमप्रभु, म तपाईंको उद्धारको आशा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु । 167 म तपाईंका गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु । 168 तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्‍छ । ताव 169 हे परमप्रभु, सहायताको निम्ति मेरो पुकारा सुन्‍नुहोस् । तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस् । 170 मेरा बिन्‍तीहरू तपाईंकै सामु आऊन् । तपाईंको वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मलाई सहायता गर्नुहोस् । 171 मेरा ओठहरूले प्रशंसा गरोस् किनकि तपाईंले मलाई आफ्ना विधिहरू सिकाउनुहुन्‍छ । 172 मेरो जिब्रोले तपाईंको वचनको बारेमा गीत गाओस्, किनकि तपाईंका सबै आज्ञा ठीक छन् । 173 तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु । 174 हे परमप्रभु, म तपाईंको उद्धारको इच्‍छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्‍द हो । 175 म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् । 176 हराएको भेडाझैँ म बरालिएको छु । आफ्नो सेवकलाई खोज्‍नुहोस् । किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन ।