118
परमप्रभुलाई धन्‍यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्‍छ । किनकि उहाँको करारको विश्‍वस्तता सदासर्वदा रहन्‍छ । 2 इस्राएलले भनोस्, "उहाँको करारको विश्‍वस्तता सदासर्वदा रहन्‍छ ।" 3 हारूनको घरानाले भनोस्, "उहाँको करारको विश्‍वस्तता सदासर्वदा रहन्‍छ ।" 4 बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, "उहाँको करारको विश्‍वस्तता सदासर्वदा रहन्‍छ ।" 5 मेरो सङ्‌कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरेँ । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्‍त्र गर्नुभयो । 6 परमप्रभु मसँग हुनुहुन्‍छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र ? 7 परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्‍छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हेर्नेछु । 8 मानिसमा भरोसा गर्नु भन्‍दा परमप्रभुमा शरण लिनु असल हुन्‍छ । 9 कसैले शासकहरूमा भरोसा गर्नु भन्‍दा परमप्रभुमा शरण लिनु असल हुन्‍छ । 10 सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारेँ । 11 तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारेँ । 12 तिनीहरूले मलाई मौरीहरूले झैँ घेरा हाले । काँढाहरू बीचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारेँ । 13 तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो । 14 परमप्रभु मेरो बल र आनन्‍द हुनुहुन्‍छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्‍छ । 15 धर्मीहरूका पालहरूमा विजयको आनन्‍दित स्‍वर सुनिन्‍छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ । 16 परमप्रभुको दाहिने बाहुली उच्‍च पारिन्‍छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ । 17 म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु । 18 परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्‍युमा सुम्पिनुभएको छैन । 19 मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्‍नेछु र परमप्रभुलाई म धन्‍यवाद दिनेछु । 20 यो परमप्रभुको ढोका हो । धर्मीहरू यसबाट भित्र पस्छन् । 21 म तपाईंलाई धन्‍यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ । 22 निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्‌गो कुनेढुङ्‌गा बनेको छ । 23 यो परमप्रभुको काम हो । यो हाम्रो दृष्‍टिमा अचम्मको कुरा हो । 24 यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्‍दित हुनेछौँ र खुसी हुनेछौँ । 25 हे परमप्रभु, हामीलाई विजय दिनुहोस् ! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस् ! 26 परमप्रभुको नाउँमा आउने धन्‍यको हो । तिमीलाई परमप्रभुको मन्‍दिरबाट हामी आशीर्वाद दिनेछौँ । 27 परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ र उहाँले हामीलाई ज्‍योति दिनुभएको छ । वेदीका सीङहरूमा बलिदानलाई डोरीहरूले बाँध । 28 तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ, र म तपाईंलाई धन्‍यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ । म तपाईंलाई उच्‍च पार्नेछु । 29 परमप्रभुलाई धन्‍यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्‍छ । किनकि उहाँको करारको विश्‍वस्तता सदासर्वदा रहन्‍छ ।