115
हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्‍वस्तता र तपाईंको सत्‍यताको खातिर तपाईंको नाउँको महिमा होस् । 2 जातिहरूले किन यसो भन्‍ने, "तिनीहरूका परमेश्‍वर कहाँ छ ?" 3 हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्‍छ । उहाँले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यही उहाँले गर्नुहुन्‍छ । 4 जातिहरूको मूर्तiहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् । 5 ती मूर्तiहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् । 6 तिनीहरूका कानहरू छन्, तर तिनले सुन्‍दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् । 7 ती मूर्तiहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिँड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् । 8 तिनीहरूलाई बनाउनेहरू तिनीहरू जस्‍तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति त्‍यस्तै हुन्‍छ । 9 ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्‍छ । 10 ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्‍छ । 11 तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्‍छ । 12 परमप्रभुले हामीलाई ध्‍यान दिनुहुन्‍छ र हामीलाई आशिष् दिनुहुन्‍छ । उहाँले इस्राएलका घरानालाई आशिष् दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष् दिनुहुनेछ । 13 उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष् दिनुहुनेछ । 14 परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्‍तानहरूका सङ्ख्या धेरै वृद्धि गरून् । 15 परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो । 16 स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिँ उहाँले मानवजातिलाई दिनुभएको छ । 17 मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्‍तमा जाने कसैले गर्नेछ । 18 तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्‍यवाद दिनेछौँ । परमप्रभुको प्रशंसा गर ।