116
म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दयाको निम्ति मेरो स्‍वर र बिन्‍ती सुन्‍नुहुन्‍छ । 2 उहाँले मेरो पुकारा सुन्‍नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु । 3 मृत्‍युका डोरीहरूले मलाई बेह्रे र चिहानको पासोहरूले मेरो सामना गरे । मैले वेदना र दुःखको महसुस गरेँ । 4 तब मैले परमप्रभुको नाउँको पुकारा गरेँः "हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।" 5 परमप्रभु कृपालु र निष्पक्ष हुनुहुन्‍छ । हाम्रो परमेश्‍वर करुणामय हुनुहुन्‍छ । 6 परमप्रभुले सोझोलाई रक्षा गर्नुहुन्‍छ । म तल झारिएको थिएँ र उहाँले मलाई बचाउनुभयो । 7 मेरो प्राण आफ्नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ । 8 किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँसु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो । 9 म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु । 10 "म ठूलो दुःखमा परेको छु" भनी मैले भनेको बेलामा पनि मैले उहाँमा विश्‍वास गरेँ । 11 आफ्नो अन्‍योलमा मैले भनेँ, "सबै मानिसहरू झूटा हुन् ।" 12 परमप्रभुले मेरो निम्ति गर्नुभएको सबै भलाइको साटो म कसरी चुक्ता गर्न सक्छु र ? 13 मुक्तिको कचौरा म उठाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु । 14 परमप्रभुका सबै मानिसहरूको सामु आफ्ना भाकलहरू उहाँमा म पूरा गर्नेछु । 15 परमप्रभुको दृष्‍टिमा उहाँका सन्‍तहरूका मृत्‍यु बहुमूल्य हुन्‍छ । 16 हे परमप्रभु, वास्तवमा, म तपाईंको सेवक हुँ । म तपाईंकी कमारीकी छोरा तपाईंको सेवक हुँ । तपाईंले मेरा बन्धनहरू तोड्नुभएको छ । 17 म तपाईंलाई धन्‍यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु । 18 परमप्रभुका सबै मानिसका सामु म आफ्ना सबै भाकलहरू उहाँमा, 19 परमप्रभुको मन्‍दिरका चोकहरूमा, यरूशलेमको बीचमा म पूरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।