112
परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञापालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रसन्न हुने मानिस धन्यको हो । 2 त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्त मानिसका सन्तानहरू धन्यका हुनेछन् । 3 धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ । 4 भक्त मानिसको निम्ति अन्धकारमा ज्योति चम्किन्छ । उहाँ अनुग्रही, कृपालु र निष्पक्ष हुनुहुन्छ । 5 अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो कारोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ । 6 किनकि त्यो कहिल्यै डग्नेछैन । धर्मी व्यक्तिको सम्झना सधैँ हुनेछ । 7 त्यो खराब समाचारदेखि डराउँदैन । त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ । 8 त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्म त्यसको हृदय बिनाडर शान्त हुन्छ । 9 त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्च पारिनेछ । 10 दुष्ट व्यक्तिले यो देख्नेछ र क्रुद्ध हुनेछ । त्यसले रीसले दाह्रा किट्नेछ र त्यो बिलिएर जानेछ । दुष्ट मानिसहरूका इच्छा नष्ट हुनेछ ।