111
परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु । 2 परमप्रभुका कामहरू महान् छन् । तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आशा गर्छन् । 3 उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्‍छ । 4 उहाँले अचम्मका कामहरू गर्नुहुन्‍छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्‍छ । 5 विश्‍वासयोग्यतासाथ उहाँको अनुसरण गर्नेहरूलाई उहाँले भोजन दिनुहुन्‍छ । उहाँले आफ्नो करार सधैँ सम्झिनुहुनेछ । 6 उहाँले जातिहरूका उत्तराधिकार आफ्ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्ना शक्तिशाली कामहरू देखाउनुभयो । 7 उहाँका हातहरूका कामहरू भरपर्दा र निष्पक्ष छन् । उहाँका सबै सुझावहरू विश्‍वासयोग्य छन् । 8 विश्‍वासयोग्य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् । 9 उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्नो करार सदाको निम्ति स्थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्य छ । 10 परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्‍छ । उहाँको प्रशंसा सदासर्वदा रहन्‍छ ।