109
हे परमेश्‍वर जसको म प्रशंसा गर्छु, चुपचाप नबस्‍नुहोस्, 2 किनकि दुष्‍टहरू र छलीहरूले मलाई आक्रमण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झूट बोल्छन् । 3 तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्‍छन्, र तिनीहरूले मलाई बिनाकारण आक्रमण गर्छन् । 4 मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु । 5 भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् । 6 यी मानिसहरू जस्ता शत्रुहरूमाथि एक जना दुष्‍ट मानिसलाई नियुक्त गर्नुहोस् । त्‍यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्त गर्नुहोस् । 7 त्‍यसको न्‍याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस् । त्‍यसको प्रार्थना पापपूर्ण ठानियोस् । 8 त्‍यसका दिनहरू थोरै होऊन् । त्‍यसको पद अरूले लेओस् । 9 त्‍यसका छोराछोरीहरू अनाथ होऊन् र त्‍यसकी पत्‍नी विधवा होस् । 10 त्‍यसका छोराछोरीहरू भौँतारिऊन् र आफ्ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् । 11 त्‍यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्‍यसले जे कमाउँछ त्‍यो विदेशीहरूले लुटून् । 12 त्‍यसलाई कसैले दया नदेखाओस् । त्‍यसका अनाथ छोराछोरीहरूलाई कसैले दया नगरोस् । 13 त्‍यसका छोराछोरीहरूलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् । 14 त्‍यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्‍यसकी आमाको पाप नबिर्सियोस् । 15 तिनीहरूका दोष सधैँ परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्झना पृथ्वीबाट मेटाइदेऊन् । 16 परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्‍वस्तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्‍युसम्मै सतायो । 17 त्‍यसले सराप्‍न मन परायो । त्‍यो त्‍यसैमाथि आइपरोस् । त्‍यसले आशिष्‌लाई घृणा गर्‍यो‍ । त्‍यसकहाँ कुनै आशिष् नआओस् । 18 त्‍यसले सरापलाई आफ्नो लुगाको रूपमा लगायो र त्‍यसको सराप त्‍यसको अन्‍तस्करणमा पानीझैँ र त्‍यसको हाडमा तेलझैँ आयो । 19 त्‍यसको सराप त्‍यसले आफैलाई ढाक्‍नलाई लगाउने लुगाझैँ, त्‍यसले सधैँ लगाउने कम्मर पेटीझैँ त्‍यसैमा परोस् । 20 मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खराब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् । 21 हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्‍वस्तता असल भएको हुनाले मलाई बचाउनुहोस् । 22 किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ । 23 साँझको छायाझैँ म लोप हुँदैछु । सलहलाई झैँ मलाई हल्लाइएको छ । 24 उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु । 25 मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्दा, तिनीहरूले आफ्ना शिर हल्लाउँछन् । 26 हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्तताद्वारा बचाउनुहोस् । 27 हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् । 28 तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष् दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्‍दित होस् । 29 मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्ना लाज लुगाझैँ लगाऊन् । 30 म आफ्नो मुखले परमप्रभुलाई धेरै धन्‍यवाद दिन्‍छु । म उहाँलाई भीडको माझमा प्रशंसा गर्नेछु । 31 किनकि दरिद्रको न्‍याय गर्नेहरूबाट त्‍यसलाई बचाउन उहाँ त्‍यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।