108
हे परमेश्वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुसीसाथ म स्तुति गाउनेछु । 2 हे वीणा र सारङ्गी, जाग । झिसमिसेलाई म जगाउनेछु । 3 हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्तुति गाउनेछु । 4 किनकि तपाईंको करारको विश्वस्तता स्वर्ग भन्दा पनि महान् छ र तपाईंको सत्यता आकाशसम्मै पुग्छ । 5 हे परमेश्वर, स्वर्ग भन्दा माथि उच्च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्च पारियोस् । 6 ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् । 7 परमेश्वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, "म आनन्दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्कोतको बेँसीलाई भाग लगाउनेछु । 8 गिलाद मेरो हो, र मनश्शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो । 9 मोआब मेरो पानीको बाटा हो । एदोममाथि म आफ्नो जुत्ता फुकाल्नेछु । पलिश्तको कारणले म विजयसाथ कराउनेछु । 10 कसले मलाई बलियो सहरभित्र ल्याउनेछ ? कसले मलाई एदोममा लानेछ ?" 11 हे परमेश्वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन ? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्न । 12 शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहायता व्यर्थ हुन्छ । 13 हामी परमेश्वरको सहायताले जित्नेछौँ । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।