107
परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्‍छ र उहाँको करारको विश्‍वस्तता सदासर्वदा रहन्‍छ । 2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ । 3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ । 4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्थानमा भौँतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् । 5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्च्‍छित भए । 6 तब तिनीहरूले आफ्ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका सङ्‌कष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो । 7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् । 8 परमप्रभुको करारको विश्‍वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् ! 9 किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्‍छ र भोकाहरूका इच्‍छाहरूलाई उहाँले असल थोकहरूले पूरा गर्नुहुन्‍छ । 10 कोही अँध्‍यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे । 11 तिनीहरूले परमेश्‍वरको वचनको विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो । 12 उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन । 13 तब तिनीहरूले आफ्ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका सङ्‌कष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो । 14 उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो । 15 परमप्रभुको करारको विश्‍वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् ! 16 किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डन्‍डाहरू काट्नुभएको छ । 17 आफ्ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्ना पापहरूका कारणले कष्‍टमा परे । 18 तिनीहरूले कुनै खानेकुरा खाने इच्‍छा हराए र तिनीहरू मृत्‍युको ढोकाहरूका नजिक पुगे । 19 तब आफ्ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका सङ्‌कष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो । 20 उहाँले आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो । 21 परमप्रभुको करारको विश्‍वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् ! 22 तिनीहरूले धन्‍यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरूको घोषणा गरून् । 23 केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यापार गर्छन् । 24 यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे । 25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो । 26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन सङ्‌कष्‍टमा बिलिएर गयो । 27 तिनीहरू मद्यले मातेकाहरूझैँ धरमराए र लडखडाए, र तिनीहरूको बुद्धि हरायो । 28 तब तिनीहरूले आफ्ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका सङ्‌कष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो । 29 उहाँले आँधीलाई शान्‍त पार्नुभयो र छालहरू शान्‍त भए । 30 तब तिनीहरू आनन्‍दित भए किनभने समुद्र शान्‍त भयो, र तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो । 31 परमप्रभुको करारको विश्‍वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्‍मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् ! 32 तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् र धर्मगुरुहरूका सभामा उहाँको प्रशंसा गरून् । 33 उहाँले नदीहरूलाई उजाडस्थानमा र पानीका मूलहरूलाई सुक्‍खा जमिनमा, 34 र यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बदल्‍नुहुन्‍छ । 35 उहाँले उजाडस्थानलाई पानीको तलाउ र सुक्‍खा जमिनलाई पानीको मूलमा बदल्‍नुहुन्‍छ । 36 भोकाहरूलाई उहाँले त्‍यहाँ बसाल्नहुन्‍छ र तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन् । 37 खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्त उब्जनी ल्याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् । 38 उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्‍छ, यसैले तिनीहरू असङ्‌ख्‍य हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको सङ्‌ख्‍या घट्न दिनुहुन्‍न । 39 पीडादायी सङ्‌कष्‍ट र दुःखले तिनीहरूको सङ्ख्या घट्‌यो र तल झारिए । 40 उहाँले अगुवाहरूमाथि घृणा खन्‍याउनुहुन्‍छ र तिनीहरूलाई उजाडस्थानमा भौँतारिन लगाउनुहुन्‍छ, जहाँ कुनै बाटो हुँदैन । 41 तर खाँचोमा परेकाहरूलाई उहाँले कष्‍टबाट सुरक्षा दिनुहुन्‍छ र बगाललाई झैँ आफ्नो परिवारको वास्ता गर्नुहुन्‍छ । 42 सोझो मन भएकाहरूले यो देख्‍नेछन् र आनन्‍दित हुनेछन् । सबै दुष्‍टताले आफ्नो मुख बन्‍द गर्छ । 43 बुद्धिमान्‌हरूले यी कुराहरूमा ख्याल गर्नुपर्छ र परमप्रभुको करारको विश्‍वस्तताका कामहरूमा ध्‍यान गर्नुपर्छ ।