106
परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्तता सदासर्वदा रहन्‍छ । 2 परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँका सबै प्रशंसनीय कामहरू कसले घोषणा गर्न सक्छ र ? 3 जे ठीक छ सो गर्नेहरू र जसका कामहरू सधैंँ न्‍यायोचित हुन्‍छन्, तिनीहरू धन्‍यका होऊन् । 4 हे परमप्रभु, तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई सम्‍झनुहोस् । तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस् । 5 तब तपाईंका चुनिएकाहरूको फलिफाप म हेर्नेछु, तपाईंको जातिको खुसीमा आनन्‍दित हुनेछु र तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु । 6 हाम्रा पुर्खाहरूले झैँ हामीले पाप गरेका छौँ । हामीले गल्ती गरेका छौँ र हामीले खराबी गरेका छौँ । 7 हाम्रा पुर्खाहरूले मिश्र देशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्‍वस्तताका धेरै कामहरूलाई बवास्ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए । 8 तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्‍नुभएको होस् । 9 उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्‍यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्थानमा झैँ समुद्रको गहिराइमा डोर्‍याउनुभयो । 10 तिनीहरूलाई घृणा गर्नेहरूको हातबाट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुटाउनुभयो । 11 तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो । तिनीहरूमध्‍ये एक जना पनि बाँचेन । 12 तब तिनीहरूले उहाँको वचनमा विश्‍वास गरे र तिनीहरूले उहाँको स्तुति गाए । 13 तर उहाँले जे गर्नुभएको थियो त्‍यो तिनीहरूले तुरुन्‍तै बिर्से । तिनीहरूले उहाँको सल्लाहको निम्ति पर्खेनन् । 14 उजाडस्थानमा तिनीहरूमा असन्‍तुष्‍ट इच्‍छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्‍वरलाई चुनौति दिए । 15 त्‍यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्‍यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो । 16 छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पूजाहारी मोशा र हारूनप्रति डाही बने । 17 पृथ्वी खुल्यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्‍नेहरूलाई ढाकिदियो । 18 तिनीहरूको माझमा आगो सल्कियो । त्‍यो आगोले दुष्‍टहरूलाई भस्‍म पार्‍यो । 19 तिनीहरूले होरेबमा एउटा बाछो बनाए र धातुको मूर्तिको आकृति पूजे । 20 तिनीहरूले परमेश्‍वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे । 21 तिनीहरूले आफ्ना उद्धारकर्तालाई बिर्से जसले मिश्र देशमा महान् कामहरू गर्नुभएको थियो । 22 उहाँले हामको देशमा अचम्मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो । 23 त्‍यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा - तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रीस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए । 24 त्‍यसपछि तिनीहरूले फलवन्‍त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्, 25 तर आफ्ना पालहरूमा गनगन गरे र परमप्रभुको आज्ञापालन गरेनन् । 26 यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ, 27 तिनीहरूका सन्‍तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्‍ट पार्नुहुनेछ । 28 तिनीहरूले पोरको बाललाई पूजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए । 29 तिनीहरूले आफ्ना कामहरूले उहाँलाई रीस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो । 30 तब मध्‍यस्थ गर्न पीनहास उठे र रूढी थामियो । 31 यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो । 32 तिनीहरूले मेरीबाको पानीमा पनि परमप्रभुलाई रीस उठाए र तिनीहरूका कारणले मोशाले कष्‍ट भोगे । 33 तिनीहरूले मोशालाई तिक्त बनाए र तिनले हतारमा बोले । 34 परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्‍ट पारेनन्, 35 तर तिनीहरू जातिहरूसँग मिसिए र तिनीहरूका मार्गहरू सिके, 36 र तिनीहरूका मूर्तिहरूको पूजा गरे जुन तिनीहरूको निम्ति पासो बन्‍यो । 37 तिनीहरूले आफ्ना छोरा र छोरीहरू भूत आत्माहरूलाई बलि चढाए । 38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तिहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे । 39 तिनीहरू आफ्ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्या जस्‍तै भए । 40 त्‍यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो । 41 उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्‍य गरे । 42 तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्ना अधिकारीको अधीनमा पारियो । 43 तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्ट आउनुभयो, तर तिनीहरूले निरन्‍तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए । 44 तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्‍नुहुँदा उहाँले तिनीहरूका सङ्‌कष्‍टमा ध्‍यान दिनुभयो । 45 उहाँले तिनीहरूसँगको आफ्नो करारलाई सम्झिनुभयो र आफ्नो अटल प्रेमको कारणले नरम हुनुभयो । 46 तिनीहरूका सबै विजेताहरूलाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्‍थ्यो । 47 हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्‍यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौँ । 48 इस्राएलका परमप्रभु परमेश्‍वरको अनादिदेखि अनन्‍तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, "आमेन ।" परमप्रभुको प्रशंसा होस् ।