103
परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु । 2 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्‍छु । 3 उहाँले तिम्रा सबै पापहरू क्षमा गर्नुहुन्‍छ । उहाँले तिम्रा सबै रोगहरू निको पार्नुहुन्‍छ । 4 उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्‍छ । उहाँले तिमीलाई करारको विश्‍वस्तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्‍छ । 5 उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्‍तुष्‍ट पार्नुहुन्‍छ, ताकि तिम्रो जवानी चीलको झैंँ नयाँ हुन्‍छ । 6 परमप्रभुले जे निष्पक्ष छ सो गर्नुहुन्‍छ र थिचोमिचोमा परेकाहरू सबैका निम्ति न्‍यायका कामहरू गर्नुहुन्‍छ । 7 उहाँले मोशालाई आफ्ना मार्गहरू र इस्राएलका सन्‍तानहरूलाई उहाँका कामहरू प्रकट गर्नुभयो । 8 परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्‍छ । उहा धैर्यवान् हुनुहुन्‍छ । उहाँमा महान् करारको बफादारी छ । 9 उहाँले सधैँ ताड्ना दिनुहुन्‍न । उहाँ सधैँ रिसाउनुहुन्‍न । 10 उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्‍न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्‍न । 11 किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्‍वस्तता त्‍यति नै महान् छ । 12 पश्‍चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा पापहरूका दोषलाई हामीबाट त्‍यति नै टाढा हटाउनुभएको छ । 13 बुबाले आफ्ना छोराछोरीहरूलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई त्‍यसरी नै दया गर्नुहुन्‍छ । 14 किनकि हामी कसरी बनिएका छौँ भनी उहाँले जान्‍नुहुन्‍छ । हामी धूलो हौँ भनी उहाँलाई थाहा छ । 15 मानिसको बारेमा, त्‍यसका दिनहरू घाँस जस्ता छन् । मैदानको फूलझैँ त्‍यो मौलाउँछ । 16 त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्‍छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्दैन । 17 तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्तता अनादिदेखि अनन्‍तसम्म रहन्‍छ । उहाँको धार्मिकता तिनीहरूका सन्‍तानहरूमा रहन्‍छ । 18 तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्‍छन् । 19 परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्‍यले हरेकमाथि शासन गर्छ । 20 ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर । 21 ए परमप्रभुका सबै फौज हो, तिमीहरू उहाँका सेवकहरू जसले उहाँको इच्‍छा पूरा गर्छौ, उहाँको प्रशंसा गर । 22 ए परमप्रभुका सबै प्राणीहरू हो, उहाँले राज्‍य गर्ने सबै ठाउँहरूमा उहाँको प्रशंसा गर । म आफ्नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।