102
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्नुहोस् । 2 मेरो कष्टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्तै जवाफ दिनुहोस् । 3 किनकि मेरो दिनहरू धूवाँझैँ बित्छन् र मेरा हाडहरू आगोझैँ जल्छन् । 4 मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँस जस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु । 5 मेरो निरन्तरको सुस्केराले म धेरै दुब्लो भएको छु । 6 म उजाडस्थानको धनेशझैँ भएको छु । भग्नावशेषको लाटोकोसेरोझैँ म भएको छु । 7 एक्लिएको चराझैँ छानामाथि म एक्लै जागा रहन्छु । 8 मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् । 9 खरानीलाई म रोटीझैँ खान्छु र मेरो पिउने कुरामा आँसु मिसाउँछु । 10 तपाईंको दन्कँदो रीसको कारणले तपाईंले मलाई तल फाल्नलाई माथि उचाल्नुभएको छ । 11 मेरा दिनहरू हराएर जाने छाया जस्तै छन् र म घाँसझैँ ओइलाएको छु । 12 तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ । 13 तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ । 14 किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्नावशेषका धूलोप्रति दयाको महसुस गर्छ । 15 हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन् । 16 परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ र आफ्नो महिमामा देखा पर्नुहुनेछ । 17 त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ । उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन । 18 यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् । 19 किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ, 20 कैदीहरूका विलाप सुन्न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन । 21 तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्, 22 जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् । 23 उहाँले मेरो जीवनको बीचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ । 24 मैले भनेँ, "हे मेरो परमेश्वर, मेरो जीवनको बीचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताहरूभरि यहाँ हुनुहुन्छ । 25 प्राचीन समयमा पृथ्वीलाई तपाईंले त्यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् । 26 तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैँ पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैँ हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् । 27 तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन । 28 तपाईंका सेवकहरूका सन्तानहरू निरन्तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्नेछन् ।"