101
करारको विश्‍वस्तता र न्‍यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्तुति गाउनेछु । 2 इमानदारीताको बाटोमा म हिँड्नेछु । तपाईं मकहाँ कहिले आउनुहुनेछ ? म आफ्नो घरभित्र इमानदारीतामा हिँड्नेछु । 3 आफ्नो आँखाको सामु म खराबीलाई राख्‍नेछैन । व्यर्थका खराब कुरालाई म घृणा गर्छु । त्‍यो मसित टाँसिनेछैन । 4 भ्रष्‍ट मानिसहरूले मलाई छोड्नेछन् । म खराबीप्रति बफादार छैन । 5 आफ्नो छिमेकीको गुप्त रूपमा निन्‍दा गर्ने जोसुकैलाई म नाश गर्नेछु । घमण्डी आचरण र अहंकारी विचार भएको कुनै पनि व्यक्तिलाई म सहनेछैन । 6 मेरो छेउमा बस्‍नलाई म देशका विश्‍वासयोग्यहरू खोज्‍नेछु । इमानदारीताको बाटोमा हिँड्नेहरूले मेरो सेवा गर्न सक्छन् । 7 छली मानिसहरू मेरो मन्‍दिरभित्र रहनेछैनन् । झूट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन । 8 हरेक बिहानै म दुष्‍टहरूलाई देशबाट नष्‍ट पार्नेछु । दुष्‍ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु ।