104
मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाईं अति महान् हुनुहुन्‍छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्‍छ । 2 तपाईंले आफूलाई लुगाले झैँ ज्‍योतिले ढाक्‍नुहुन्‍छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैँ फैलाउनुहुन्‍छ । 3 तपाईंले आफ्नो कोठाहरूका दलीनहरू बादलमा राख्‍नुहुन्‍छ । तपाईंले बादललाई आफ्नो रथ बनाउनुहुन्‍छ । तपाईं हावाको पखेटाहरूमा हिँड्नुहुन्‍छ । 4 उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्‍छ । 5 उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन । 6 तपाईंले पृथ्वीलाई लुगाले झैँ पानीले ढाक्‍नुभयो । पानीले पहाडहरू ढाके । 7 तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको स्‍वरमा तिनीहरू भागे । 8 तपाईंले तिनीहरूका निम्ति तोक्‍नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेँसीहरू फैलिए । 9 तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्‍नुभएको छ, जुन तिनीहरूले नाघ्‍नेछैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्‍नेछैनन् । 10 उहाँले मूलहरूलाई बेँसीहरूमा बगाउनुभयो । पहाडहरूका बीचबाट खोलाहरू बग्छन् । 11 तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्‍छन् । जङ्‌गली गधाहरूले आफ्नो तिर्खा मेटाउँछन् । 12 नदीका किनाराहरूमा चराहरूले आफ्ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् । 13 आकाशमा भएको पानीका आफ्ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्‍छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ । 14 उहाँले गाईवस्तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्‍छ, ताकि मानिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् । 15 मानिसलाई खुसी राख्‍न दाखमद्य, त्‍यसको अनुहार चम्किलो पार्न तेल र त्‍यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्‍छ । 16 परमप्रभुका रूखहरूले प्रशस्त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो । 17 चराहरूले त्‍यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ । 18 घोरलहरू उच्‍च पहाडहरूतिर बस्छन् । पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन् । 19 उहाँले चन्‍द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो । सूर्यले आफ्नो अस्ताउने समय जान्‍दछ । 20 तपाईंले रातको अँध्‍यारो बनाउनुहुन्‍छ, जब वनका सबै पशुहरू बाहिर निस्किन्‍छन् । 21 जवान सिंहहरू आफ्ना शिकारको निम्ति गर्जिन्‍छन् र परमेश्‍वरबाट आफ्नो खानेकुरा खोज्छन् । 22 जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्‍छन् र आफ्ना खोरहरूमा सुत्छन् । 23 यसबीच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्‍छन् र साँझसम्म नै परिश्रम गर्छन् । 24 हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन् ! बुद्धिले तपाईंले तिनीहरू सबैलाई बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ । 25 त्‍यहाँ गहिरो र फराकिलो, साना र ठूला दुवै असङ्‌ख्‍य प्राणीहरूले भरिएको समुद्र छ । 26 पानी जहाजहरू त्‍यहाँ यात्रा गर्छन् र लिव्यातन् पनि त्‍यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो । 27 यी सबैले समयमा आफ्नो खाना पाउनलाई तपाईंतिर हेर्छन् । 28 तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्‍तुष्‍ट हुन्‍छन् । 29 तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू सङ्‌कष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्‍छन् । 30 तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्‍छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्‍छ । 31 परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्नो सृष्‍टिमा आनन्‍दित हुनुभएको होस् । 32 उहाँले तल पृथ्वीमा हेर्नुहुन्‍छ र त्‍यो हल्लिन्‍छ । उहाँले पहाडहरूलाई छुनुहुन्‍छ र तिनीहरूमा धूवाँ निस्कन्‍छ । 33 आफ्नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुञ्‍जेल आफ्नो परमेश्‍वरको स्तुति गाउनेछु । 34 मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्‍दित हुनेछु । 35 पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।