97
परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । पृथ्वी आनन्‍दित होस् । धेरै वटा समुद्री किनार खुसी होऊन् । 2 बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्‍याय उहाँको सिंहासनको जग हो । 3 आगो उहाँको अगि-अगि जान्‍छ र उहाँका वैरीहरूलाई हरेकतिर भस्‍म पार्छ । 4 उहाँको बिजुलीको चमकले संसारलाई उज्‍यालो बनाउँछ । पृथ्वीले देख्छ र थरथर काम्छ । 5 परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैँ पग्लिन्‍छन् । 6 आकाशले उहाँको न्‍यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् । 7 कुँदेका आकृतिहरू पूज्‍नेहरू, व्यर्थका मूर्तिहरूमा घमण्ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्‍टो पर ! 8 हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्‍यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए । 9 हे परमप्रभु, तपाईं सारा पृथ्वी भन्‍दा उच्‍च हुनुहुन्‍छ । तपाईं सबै देवता भन्‍दा उच्‍च हुनुहुन्‍छ । 10 तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्‍तहरूका जीवन रक्षा गर्नुहुन्‍छ र उहाँले तिनीहरूलाई दुष्‍टको हातबाट बाहिर निकाल्नुहुन्‍छ । 11 धर्मीहरूका निम्ति ज्‍योति प्रकट हुन्‍छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ । 12 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिँदा धन्‍यवाद देओ ।