96
परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ । 2 परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्‍यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर । 3 उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर । 4 किनकि परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको ठूलो प्रशंसा हुनुपर्छ । अरू सबै देवता भन्‍दा बढी उहाँकै भय मान्‍नुपर्छ । 5 किनकि जातिहरूका सबै देवता मूर्तिहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्‍छ । 6 उहाँको उपस्थितिमा वैभव र ऐश्‍वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्‍दरता छन् । 7 हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्तुति गर । 8 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्याओ र उहाँको मन्‍दिरभित्र आओ । 9 पवित्रताको सुशोभित भएर परमप्रभुको सामु घोप्‍टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ । 10 जातिहरूका माझमा भन, "परमप्रभुले राज्‍य गर्नुहुन्‍छ ।" संसार पनि स्थापित भएको छ । त्‍यसलाई हल्‍लाउन सकिँदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्‍याय गर्नुहुन्‍छ । 11 आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिँ आनन्‍दले कराओस् । 12 मैदानहरू र त्‍यसमा भएका सबै थोक आनन्‍दित होऊन् । वनका सबै रूखहरूले आनन्‍दले कराऊन्, 13 परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्‍छ । उहाँ पृथ्वीको न्‍याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्ततामा न्‍याय गर्नुहुनेछ ।