95
आओ, परमप्रभुको निम्ति हामी गाऔँ । हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔँ । 2 उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौँ । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔँ । 3 किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरू भन्दा माथिका महान् राजा हुनुहुन्छ । 4 पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्चाइहरू उहाँकै हुन् । 5 समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुक्खा जमिन उहाँकै हातले बनाए । 6 आओ, हामी आराधना गरौँ र घोप्टो परौँ । हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौँ । 7 किनकि उहाँ हाम्रो परमेश्वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौँ । आज, तिमीहरूले उहाँको स्वर सुन्नेछौ । 8 "मेरीबामा वा उजाडस्थानको मस्साहका दिनमा झैँ आफ्नो हृदयलाई कठोर नपार, 9 जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे । 10 किनकि चालीस वर्षसम्म म त्यो पुस्तासित रिसाएँ र भनेँ, 'यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।' 11 यसकारण मैले आफ्नो रीसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।