94
हे परमप्रभु, परमेश्‍वर जसले बदला लिनुहुन्‍छ । हे बदला लिनुहुने परमेश्‍वर, हामीमाथि चम्किनुहोस् । 2 हे पृथ्वीका न्‍यायकर्ता, उठ्नुहोस् । घमण्डीहरूलाई जे सुहाउँदो हुन्‍छ, त्‍यो तिनीहरूलाई दिनुहोस् । 3 हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन् ? 4 तिनीहरू आफ्ना घमण्डका शब्दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहंकार गर्छन् । 5 हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् । 6 तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्‍ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्‍या गर्छन् । 7 तिनीहरू भन्‍छन्, "परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न । 8 ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरूले कहिले सिक्‍नेछौ ? 9 उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र ? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र ? 10 उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्‍छ, के उहाँले सच्‍याउनुहुन्‍न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्‍छ । 11 परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती बाफ हुन् । 12 हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्‍छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्‍छ, त्‍यो धन्‍यको हो । 13 दुष्‍टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्‍यसलाई कष्‍टको समयमा विश्राम दिनुहुन्‍छ । 14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्‍याग्‍नुहुन्‍न वा आफ्ना उत्तराधिकारलाई छोड्नुहुन्‍न । 15 फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् । 16 खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ ? दुष्‍टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ ? 17 परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्‍तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ । 18 जब मैले भनेँ, "मेरो खुट्टा चिप्लँदैछ", हे परमप्रभु, तपाईंको करारको विश्‍वस्तताले मलाई माथि उचाल्यो । 19 जब मभित्र फिक्रीहरू धैरै हुन्‍छन्, तब तपाईंका सान्‍त्वनाहरूले मलाई खुसी बनाउँछन् । 20 के विनाशको सिंहासन, जसले नियमद्वारा अन्‍यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र ? 21 तिनीहरू धर्मीको ज्‍यान लिन सँगै षड्‌यन्‍त्र रच्‍छन् र तिनीहरूले निर्दोषलाई मृत्‍युदण्ड दिन्‍छन् । 22 तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्‍वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ । 23 तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्‍टतामा तिनीहरूलाई नष्‍ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ ।