98
परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ । 2 परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्‍यायलाई सबै जातिलाई खुल्‍लमखुल्ला देखाउनुभएको छ । 3 उहाँले इस्राएलको घरानाको निम्ति आफ्नो करारको बफादारी र विश्‍वस्तता सम्झिनुहुन्‍छ । पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्‍वरको विजय देख्‍नेछन् । 4 हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्‍दसाथ जयजयकार गर । गीत गाओ, आनन्‍दसाथ गाओ र स्तुति गर । 5 वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ । 6 तुरहीहरू र सीङको आवाजले परमप्रभु राजाको सामु आनन्‍दसाथ जयजयकार गर । 7 समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोबास गर्नेहरू कराओ । 8 नदीहरूले तिनीहरूले आफ्ना ताली बजाऊन् र पहाडहरू आनन्‍दले कराऊन् । 9 परमप्रभु पृथ्वीको न्‍याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्‍याय गर्नुहुन्‍छ ।